आर्थिक

निषेधाज्ञाले वीरगञ्ज भन्सारको राजश्व असूली घट्यो

- शंकर आचार्यपर्सा

पर्साको वीरगञ्ज महानगरपालिकामा शनिबारबाट लागू गरिएको अनिश्चितकालिन निषेधाज्ञाको कारण भन्सार कार्यालयको राजश्व असूली प्रभावित भएको छ । स्थानीय प्रशासनले समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको ठहर गर्दै शनिबारदेखि वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । 

चार महिना लामो लकडाउन अन्त्य भएसँगै सामान्य बनेको वीरगञ्ज/आइसीपी तथा सिर्सिया सुक्खा बन्दरगाहको भिडभाड शनिबारदेखि पुन: घटेको छ । दुबै भन्सारमा सेवाग्राहीको उपस्थिति न्यून छ । यसको कारण यी भन्सार कार्यालयले दैनिक संकलन गर्ने राजश्वमा पनि घटेको छ ।

वीरगञ्ज/आइसीपी भन्सार कार्यालयका सूचना अधिकारी विमल कुमार साहका अनुसार शनिबार अघिसम्म दैनिक २५ करोड रुपैयाँको हाराहारीमा राजश्व संकलन गर्दै आएको यो भन्सारले शनिबार यता भने त्यसको आधा मात्र राजश्व संकलन गर्न सकेको छ । शनिबार निषेधाज्ञाको पहिलो दिन ४ करोड २८ लाख र आइतबार १४ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको उहाँले बताउनुभयो । ‘शुक्रबार २३ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन भएको थियो,’ उहाँले भन्नुभयो, ‘निषेधाज्ञा सुरु भएपछि फेरि राजश्व असूली घटेको छ, यसले गर्दा मासिक राजश्व असूली लक्ष्य भेट्टाउन अब सम्भव नहुने पक्का छ ।’

साउन महिनामा ११ अर्ब ४२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा आइतबार सम्ममा २ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको उहाँले बताउनुभयो । यो मासिक लक्ष्यको जम्मा २१ दशमलव २३ प्रतिशत मात्र हो । 

साउन लागेपछि समग्र आयात निर्यात व्यापार घटेको र राजश्वमा योगदान गर्ने मुख्य वस्तुहरु इन्धन र नयाँ सवारी साधनको आयात पनि घटेको अवस्थामा निषेधाज्ञाका कारण स्थिति झनै नाजुक बन्न पुगेको भन्सार कार्यालयका सूचना अधिकारी साहले बताउनुभयो ।

यता सिर्सिया सुक्खा बन्दरगाहको अवस्था पनि उस्तै छ । शनिबारदेखि राजश्व असूली दैनिक करोड रुपैयाँबाट लाख रुपैयाँको दरमा झरेको भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले बताउनुभयो । ‘साउन महिनामा २ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएका छौं, तर आइतबारसम्म त्यसको करीब २० प्रतिशत मात्र सफलता मिलेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले मालबाहक रेलको आगमन पनि घटेको अवस्थामा राजश्व असूलीको पुरानै लय समात्न कठिन बन्दै गएको छ ।’

भारतीय कष्टम एजेन्टलाई काममा रोक :

शनिबारदेखि निषेधाज्ञा जारी गरिएसंगै वीरगञ्जस्थित भन्सारहरुमा काम गर्न आउने भारतीय कष्टम एजेन्ट, तीनका सहयोगी तथा सहायकहरुलाई समेत प्रवेशमा रोक लगाएको छ । वीरगञ्ज भन्सारस्थित सशस्त्र प्रहरीको राजश्व गस्ती कार्यालयका प्रमुख डीएसपी अमरबहादुर खत्रीले भारतीय कष्टम एजेन्ट तथा तिनका कर्मचारीहरुबाट कोरोना संक्रमण फैलिने खतरा बढेकाले प्रवेशमा रो लगाएको बताउनुभयो ।

आइसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले आइसीपी तथा सुक्खा बन्दरगाह दुबैमा भारतीय एजेन्ट तथा तिनका सहयोगीका लागि कडाई गरिएको बताउनुभयो । सुक्खा बन्दरगाहमा गत साता केही कष्टम एजेन्ट र तिनका सहयोगीमा संक्रमण देखिएको उहाँले बताउनुभयो । ‘श्याम पटेल सहित केही कष्टम एजेन्ट र अन्य केही एजेन्टका सहयोगीहरुमा संक्रमण देखियो,’ उहाँले भन्नुभयो, ‘त्यस कारण सजगता अपनाइएको हो ।’

बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठले भारतीय शहर रक्सौलमा कोरोना संक्रमण हाल समुदाय स्तरमै विस्तार भई सकेको अवस्थामा भारतीय नागरिक दैनिक नेपाल आउजाउ गर्दा संक्रमण फैलिने जोखिम बढेका कारण स्थानीय प्रशासनको निर्देशनपछि कडाई गरिएको बताउनुभयो ।

‘भारतबाट आउजाउ गर्नेको हकमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘नेपालमै बसेर काम गर्नेको हकमा समस्या भएन, तर दैनिक भारतबाट आउजाउ गर्नेलाई रोक लगाएको हो ।’