कोलकत्ताबाट भिजेको मल नेपाल भित्रियो
- वीरगञ्जसाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरी आयात गरेको २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा नेपाल आईपुगेको छ । तेस्रो मुलुकबाट आयात गरेको मल भारतको कोलकाता बन्दरगाह हुँदै गत शनिबार वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको हो ।
स्वीस सिंगापुर कम्पनीले २५ हजार टन मलको टेन्डर पाएको हो । बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा अधिकांश मलका बोरा भिजेको पाइएको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख आमोद लामिछानेले बताउनुभयो ।
‘कति हजार बोरा भिजेका छन् यकिनका साथ भन्ने अवस्था छैन्,’ कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, ‘तर, सोचेको भन्दा बढी डीएपी मलका बोरा भिजेका छन् ।’ आपूर्तिकर्ताले मल सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गरी साल्ट ट्रेडिङको गोदाममा पुर्याएपछि मात्र आफ्नो जिम्मेवारीमा आउने लामिछानेले बताउनुभयो ।
‘बन्दरगाहमा आएको मल अहिले पनि सप्लायर्सकै जिम्मामा छ,’ लामिछानेले भन्नुभयो, ‘जाँचपास भएर साल्ट ट्रेडिङको गोदाममा आएपछि मात्र हाम्रो जिम्मामा आउँछ ।’ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिले गत मेमा बंगालको खाडीमा आएको ‘अम्फन’ नामक आँधीका कारण मल भिजेको जानकारी गराएको लामिछानेले बताउनुभयो ।
कार्यालयका अनुसार आपूर्तिकर्ताले ठेक्का सकार गरेको २५ हजार टन मध्ये अझै करीब ६ हजार टन आपूर्ति गर्न बाँकी छ । स्रोतका अनुसार केही मल अझै पनि कोलकाता बन्दरगाहमा भिजेकै अवस्थामा छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड केन्द्रीय कार्यालयका प्रवक्ता कुमार राजभण्डारीले सम्झौता बमोजिम आपूर्तिकर्ताले मल राम्रो अवस्थामा गोदाममा नपुर्याएसम्म भुक्तानी नदिने बताउनुभयो । ‘अहिले पनि मल आपूर्तिकर्ताकै जिम्मेवारीमा छ,’ प्रवक्ता राजभण्डारीले भन्नुभयो, ‘यो हाम्रो सरोकारको विषय हैन ।’
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार मल आंशिक भिजेर आएको छ । भिजेको मल काम नलाग्ने रिर्पोट पनि पाएको उहाँले बताउनुभयो । ‘राम्रो र नराम्रो मलको बोरा छुट्याएर राम्रो मात्र पास गर्छौ,’ भन्सार प्रमुख श्रेष्ठले भन्नुभयो, ‘जुन भिजेको छ त्यसको गुणस्तर छैन भन्ने रिपोर्ट पनि हामीले प्राप्त गरिसक्यौं । बीमा सर्भेयरले पनि रिपोर्ट दिन्छ, राम्रो जति पास गर्छौ ।’
पानीले भिजेर बिग्रिएका मललाई आफूहरुकै रोहबरमा नष्ट गर्न लगाउने उहाँले बताउनुभयो । ‘कति जति मल भिजेर खराब भएको छ, त्यसको तथ्यांक आइसकेको छैन्,’ उहाँले भन्नुभयो, ‘तथ्यांक खुलाउन सर्भेयरलाई निर्देशन दिएको छु ।’ साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार नेपालका लागि तेस्रो मुलुकबाट आएको मल भारतीय बन्दरगाहमा धेरै दिनसम्म त्यहाँका कर्मचारीले राख्न दिंदैन् ।
‘एलसी खोलेर आएको सामान जे–जस्तो अवस्थामा छ त्यो नेपालमा इन्ट्री भएकै हुनुपर्छ । जति कागजात सिपमेन्ट भएको छ, यो आउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, हामी बिग्रेको मलको जिम्मेवारी लिदैनौँ ।’ सम्झौतामा गोदाम डेलिभरी भएकाले आफूहरुमाथि आर्थिक भार नपर्ने भन्दै उहाँले राम्रो अवस्थामा गोदाममा गनेर दिएको मलको मात्र भुक्तानी गर्ने बताउनुभयो ।