आर्थिक

फल्ने बेलामा सुक्यो अलैंची

- आश गुरुङलमजुङ

लमजुङको क्व्होलासोंथर गाउँपालिका–३, बगुमका गमबहादुर घलेको बगानमा अलैंची फल्न थालेको ३ वर्ष भयो । तर, बगानको अलैंची सबै सुकेर यसवर्ष आम्दानी दिएन । करीब २५ रोपनी क्षेत्रफलमा लगाएको अलैंची सबै सुकेको उनले बताए । उनका अनुसार पात मात्रै नभएर डाँठ पनि सुकेको छ । 

‘अलैंचीको पात र डाँठ सुकेको छ । फल लागेन’ उनले भने, ‘मेरो मात्रै होइन, समूह र व्यक्तिगत रुपमा लगाएका सबै अलैंचीको समस्या उस्तै हो ।’ उत्पादन दिन थालेको ३ वर्षमै अलैंची सुकेपछि किसान चिन्तित बनेका छन् ।

स्थानीयले घले उत्तरकन्या अलैंची समूह गठन गरी २०७२ सालदेखि अलैंची खेती थालेका थिए । समूहका सचिव समेत रहेका घलेका अनुसार २१ जना किसानले करीब २ सय रोपनीमा सामूहिक अलैंची खेती गरेका छन् । केही वैदेशिक रोजगारबाट आएका र केही वैदेशिक रोजगारीमा नगई गाउँमै खेती किसानी गरिरहेका छन् । ‘गाउँमै केही हुन्छ कि भनेर अलैंची खेतीतिर लागियो । अलैंची सबै सुक्यो ।’

समूहले गतवर्ष ७ क्वीन्टल अलैंची उत्पादन गरेको थियो । यसवर्ष करीब २० क्वीन्टल अलैंची उत्पादन गर्ने प्रक्षेपण गरेको थियो । अलैंची दाना लाग्ने बेलादेखि पात र डाँठ सुक्न थालेको किसान बेलराम घलेले बताए । ‘मौसम राम्रो थियो । सुरुमा राम्रै थियो । फल लाग्ने बेलादेखि बिग्रियो’ उनले भने, ‘४/५ क्वीन्टल पनि हुन्छ या हुँदैन, थाह छैन ।’ उनी आफैंले व्यक्तिगत १५ रोपनीमा अलैंची खेती गरेका छन् ।

‘वर्षमा तीन पटक गोडमेल गरेकै हो । चैतमा सुकेका पात फाल्यौं । जेठ र साउनमा गोलमेल गर्‍यौं । के भयो, के भयो । पात र डाँठ सबै मर्‍यो’ उनले भने । गतवर्ष करीब डेढ क्वीन्टल अलैंची उत्पादन भएकोमा यसवर्ष आधा क्वीन्टल पनि फल्नेमा ढुक्क नरहेको उनले बताए ।

बगुममा मात्रै होइन, मस्र्याङ्दी गाउँपालिका ७, ताराचोक, शेरा क्षेत्रमा पनि अलैंचीमा पात र डाँठ सुक्ने समस्या छ । शेराका किसान डम्मरसिंह अधिकारीका अनुसार शेराका किसानले लगाएको प्राय: अलैंचीमा पात र डाँठ सुक्ने समस्या छ । अलैंचीमा रोग लागेपछि उत्पादन घटेको उनले बताए ।

‘हुन त बोटहरु बुढो भयो, त्यही भएर पनि होला । नयाँमा पनि रोग लागेको छ’ उनले भने । उनका अनुसार अलैंचीमा रोग लागेको विषयमा प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना (अलैंची जोन) लाई जानकारी गराएको छ । तर, प्राविधिक भने आएका छैनन् ।

अलैंची जोनका निमित्त प्रमुख हरिबहादुर मिजारका अनुसार किसानले अलैंचीमा लागेको रोग बारे जानकारी गराएका छन् । तर, सवारी साधन मर्मतमा रहेकाले किसानको खेतमा पुग्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अलैंची जुन रुपमा स्याहार गर्नुपर्ने हो, त्यो पुगेको छैन । बोट पुरानो भएकाले पनि रोगाएको हो ।’

उहाँका अनुसार अलैंचीमा केही नयाँ रोगहरु देखिएका छन् । डढुवा, गानो कुहिने रोगहरु छन् । ‘हामीसँंग नमूना लिएर चेक गर्ने कार्यक्रम छैन । हामीलाई दिइएको छैन । न हामीसँग ल्याब छ, सबै प्रदेशले गर्छ, ’ उहाँले भन्नुभयो, ‘हामीले अलैंचीमा लाग्ने रोग र यसबाट बच्न उपाय भने किसानलाई सिकाएका छौं ।’ लमजुङमा १ हजार ५० हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । गतवर्ष २ सय मेट्रिक टन (२ हजार क्वीन्टल) अलैंची उत्पादन भएको थियो । 

अलैंची खेतीको क्षेत्रफल बढ्दै गएकाले अलैंची उत्पादन वर्षेनी बढ्दै गएको छ । तर, सोचे अनुरुप उत्पादन बढाउन नसकिएको किसानहरुले बताएका छन् । अलैंचीको मूल्य वर्षेनी घट्दै गएको छ । पछिल्लो समय किसानले लगाएको अलैंचीमा विभिन्न किसिमका रोग लागेकाले व्यवसायिक किसान चिन्तित छन् ।