आर्थिक

वीरगञ्ज नाकाबाट सवारी साधनको आयात आधा घट्यो

- शंकर आचार्यपर्सा

वीरगञ्ज नाकाबाट सवारी साधनको आयात झण्डै आधाले घटेको छ । चाडपर्व नजिकिए पनि वीरगञ्ज नाकाबाट सवारी साधनको आयात बढन सकेको छैन । सवारी साधन आयात हुने मुलुकको यो मुख्य नाकाबाट अघिल्ला वर्षहरुमा दशै, तिहार जस्ता पर्व नजिकिएपछि जिप, कार, भ्यान, मोटरसाइकल, बस ट्रकका चेसिस जस्ता सवारी साधनको आयात बढ्ने गर्थ्यो ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको असोज २३ गतेसम्म यो नाका हुँदै १ अर्ब ३१ करोड रुपैयाँ बराबरको १ हजार १ सय ७४ थान जिप, कार र भ्यानहरु भारत तथा तेश्रो मुलुकबाट आयात भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ६८ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरको २ हजार ७ सय ८६ थान सवारी आयात भएका थिए । 

तुलनात्मक रुपमा चालू आर्थिक वर्षमा ५८ प्रतिशतले यस्ता सवारीको आयात घटेको छ । त्यसैगरी, चाडपर्वमा अत्यधिक बिक्री हुने मोटरसाइकलको आयात पनि ४३ प्रतिशतले घटेको देखिन्छ । चालू आर्थिक वर्षको असोज २३ गतेसम्मको अवधिमा यो नाका हुँदै १ अर्ब ६३ करोड ६ लाख ७७ हजार रुपैयाँ बराबरको १८ हजार ४ सय ८० थान मोटरसाइकल आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६७ करोड ७४ लाख ५२ हजार रुपैयाँ बराबरको ३२ हजार ५ सय ९१ थान मोटरसाइकल आयात भएको थियो । चालू आवको असोज २३ गतेसम्म २७ करोड २२ लाख रुपैयाँ बराबरको २ सय ५ थान डबल क्याब पिकअप आयात भएका छन् । गत आवको यसै अवधिमा ४६ करोड २९ लाख रुपैयाँ बराबरको ४ सय ४ थान यस्ता सवारी आयात भएका थिए । तुलनात्मक रुपमा ४९ प्रतिशतले यसको आयात घटेको देखिन्छ । 

यो नाकाबाट ट्रक, मिनिट्रकको आयात पनि ४१ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको असोज २३ गतेसम्ममा ६३ करोड ३६ लाख रुपैयाँ बराबरको २ सय ७१ थान ट्रक, मिनिट्रक आयात भएका छन् । गत आवको यसै अवधिमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको ४ सय ६० थान यस्ता सवारी साधन आयात भएका थिए । चालू आर्थिक वर्षमा सिंगल क्याब पिकअपको आयात पनि ३२ प्रतिशतले घटेको छ ।

चालू आवको असोज २३ गतेसम्म यो नाकाबाट २० करोड ९८ लाख रुपैयाँ बराबरको ३ सय ३० थान सिंगल क्याब पिकअप आयात भएको छ । गत आवको यसै अवधिमा ३५ करोड ७३ लाख रुपैयाँ बराबरको ४ सय ८४ थान यस्ता सवारी साधन आयात भएका थिए । चालू आवमा बस ट्रकका चेसिसको आयात पनि ५३ प्रतिशतले घटेको छ । असोज २३ गते सम्मको अवधिमा ३९ करोड ४१ लाख रुपैया बराबरको २ सय १० थान बस ट्रकका चेसिस आयात भएका छन् । 

गत आवको यसै अवधिमा ७३ करोड ९३ लाख रुपैयाँ बराबरका ४ सय ४८ थान यस्ता सवारी साधन आयात भएका थिए । उपभोक्ताले यी पर्वमा विशेष छुट अफर पाउने तथा दशैं, धनतेरश, लक्ष्मीपूजा आदिको दिन पारेर सवारी साधन खरिद गर्दा शुभ हुने विश्वासको कारण पनि अन्य महिनाको तुलनामा यी ठूला चाड पर्वको अवसर पारेर नयाँ सवारी साधन खरिद गर्ने गर्थे । वीरगञ्ज भन्सारले संकलन गर्ने कुल राजश्वमा सवारी साधन र इन्धनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । 

सवारी साधनको आयात घट्दा यो भन्सारले चालू आर्थिक वर्षका महिनाहरुमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकी रहेको छैन । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार कोभिड–१९ महामारी सुरु हुनु अघिनै सबै खाले सवारी साधनको आयात ओरालो लाग्दै गरेकोमा महामारीसँगै सुरु भएको लकडाउन अवधिमा सवारी साधनको आयात झनै घटेको छ । 

‘महामारी सुरु हुनु अघिनै वाणिज्य बैंकहरुले सवारी साधनमा लगानी कम गर्नु, बजारमा तरलता अभाव लगायत कारणले सवारी साधनको आयात ओरालो लागी सकेको थियो,’ उहाँले भन्नुभयो, ‘कोभिड महामारी सुरु भएपछि त्यो क्रम झनै बढन गयो ।’ पछिल्लो केहीदिन यता सवारी साधनको आयात केही बढ्दै गएपनि त्यो गत आर्थिक वर्षको तुलनामा भने न्यूननै रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत साहले बताउनुभयो ।