आर्थिक

विद्युत् ट्रिपिङ घट्यो : प्राधिकरण

- केएफएम डेस्ककाठमाडौं

प्रसारण तथा वितरण लाइन र सवस्टेसन सुदृढीकरणका कामबाट छिनछिनमा विद्युत जाने (ट्रिपिङ) को समस्या घट्दै गएको विद्युत प्राधिकरणले बताएको छ । विद्युत प्राधिकरणको तथ्यांक अनुसार माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । 

काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सवस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत सेवा अवरुद्ध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो । 

प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित र अघोषित रुपमा विद्युत् कटौती नगरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । 

सडक तथा खानेपानी पाइप बिस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्ने लगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्ने बताउनुभयो । 

ट्रिपिङ बढी हुने सवस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्ने लगायत काम भइरहेको जानकारी दिनुभयो । माग धान्न नसक्ने अवस्थामा रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउने लगायत काम गर्दै विद्युत आपूर्तिमा सुधार गर्ने कार्य भईरहेको प्राधिकरणले जनाएको छ ।