आर्थिक

सिन्धुलीका जुनारमा प्रोटिन-वेट छिट्न सुरु

- राजकुमार कार्कीसिन्धुली

सिन्धुलीका किसानले लगाएको जुनार, सुन्तलामा औंसा कीरा व्यवस्थापनका लागि क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम अन्तर्गत प्रोटिन–वेट छिट्ने कार्य सुरु भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीबाट महामारीकाबीच जुनारका बोटमा प्रोटिन–वेट छिट्न थालिएको हो । 

जुनार तथा सुन्तलाजातका फलफूलमा लाग्ने औंसा कीरा व्यवस्थापनका लागि स्वास्थ्य सावधानी अपनाउँदै प्रोटिन–वेट छिट्न सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीले जानकारी दिनुभयो ।

किसान र सुपर कार्यालयबाट गरी १९ लाख रुपैयाँको साझेदारीमा ९ सय ५० लिटर प्रोटिन–वेट खरिद गरिएको छ । भौतिक दूरी कायम गरी सजगता अपनाइ उत्पादनमूलक काममा महामारीकाबीच किसानलाई प्रोत्साहित गरिएको जुनार सुपर जोन प्रमुख अधिकारीको भनाई छ । 

बगैंचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा औषधि छर्कने गरिएको कृषि प्राविधिक जहानसिंह कार्कीले बताउनुभयो । जुनार बगैंचामा प्रोटिन–वेट छिट्नका लागि ३२ जना स्प्रेकर्तालाई तालिम दिएर बगैंचामा खटाइएको कार्यालयका प्राविधिक कार्कीले जानकारी दिनुभयो । 

फलेका ३ बोट मध्ये १ बोट जुनारको निश्चित ठाउँमा चिन्हो लगाई एक भाग प्रोटिन वेटमा दुई भाग पानी मिसाएर तयारी प्रोटिन–वेटको घोल साताको एकपटक १० सातासम्म स्प्रे गर्नुपर्ने प्राविधिक कार्कीले सुनाउनुभयो ।

‘यस्तो महामारीको समयमा विषादी छिट्न पाउनु नै ठूलो कुरा भयो, नयाँ खर्कका जुनार कृषक रामकुमार थापाले भेन, ‘कीराको प्रकोपले जुनार नहुने हो की भन्ने लागेको थियो, अव आश पलाएको छ ।’

६ वर्ष अघिदेखि जुनार फल कुहाउने कीराको प्रकोप नियन्त्रणका लागि विषादी छिट्ने गरिएको छ । जुनारको दाना कुहाउने तथा औंसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सलाई नियन्त्रण गर्न प्रोटिन–वेट विषादी छिटेपछि गत वर्ष ७० प्रतिशतसम्म कीरा नियन्त्रणमा आएको थियो । 

जुनार फल कुहाउन औंसा पार्ने कीराको पोथी झिँगाले फूल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने हुँदा अहिले स्प्रे गर्दा बोटमै कीरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिकको भनाइ छ । 

सिन्धुलीको गोलन्जोर, सुनकोशी, फिक्कल, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाको वडा नम्बर–३ जुनारको पकेट क्षेत्र हुन् । जिल्लामा गत वर्ष आठ हजार मेट्रिक टन जुनार उत्पादन भएको थियो ।