आर्थिक

बुटवलको दशैं बजारमा ५१ लाख रुपैयाँ बराबरको कारोवार

- सन्जु पौडेलतिलोत्तमा

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सञ्चालन गरिएको दशैं सस्तो बजारमा ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । घटस्थापनाबाट सुरु गरिएको दशैं लक्षित सस्तो बजार सोमबार सकिएको हो । 

दशैं सस्तो बजारमा करीब ११ हजार उपभोक्ताले अवलोकन गरेको र बजार भित्र ५१ लाख रुपैयाँ बराबरको कारोवार भएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

दशैं सस्तो बजार सकिएसँगै बजारमा सहभागी स्टल धनीलाई संघले सम्मान पत्र प्रदान गरेको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहितको टोलीले स्टल धनीलाई प्रशंसा पत्र प्रदान गर्दै संघको कार्यक्रममा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे । 

सस्तो बजारमा नयाँ नोट सटहीको समेत व्यवस्था मिलाइएको थियो । दशैं सस्तो बजारमा ९२ लाख ५० हजार रुपैयाँ बराबरको नयाँ नोट सटही गरिएको संघले जनाएको छ । बजारमा साल्ट ट्रेडिङ्, दुग्ध विकास संस्थान सहितका ३० वटा स्टल राखिएको थियो । 

बुटवल उद्योग वाणिज्य संघले गर्दै आएको दशैं सस्तो बजारको यो २० औं संस्करणको हो । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरी सस्तो बजार सञ्चालन गरिएको अध्यक्ष कसजुले बताउनुभयो ।