आर्थिक

'बढ्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख'

- सुरज राजथलाकाठमाडौं

बढ्दो व्यापार घाटाका कारण मुलुकको अर्थतन्त्र संकटतिर धकेलिदै गएको छ । सरकारले नेपाली उत्पादनको निर्यात र वैदेशिक लगानी प्रवर्धन गर्न नसक्दा व्यापार घाटाको खाडल गहिरिंदै गएको देखिन्छ । परनिर्भरता बढ्दै जाँदा मुलुकको व्यापार घाटा चुलिएको जानकारहरु बताउँछन् । नेपालको बढ्दो व्यापार घाटा अहिलेको अनुपातमा बढ्यो भने यसले मुलुकको बजेट भन्दा ठूलो हिस्सा ओगट्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपालको अर्थतन्त्रका महत्वपूर्ण परिसूचक दिनप्रति दिन खराब बन्दै गएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभाग र राष्ट्र बैंकको तथ्याङक अनुसार अत्यावश्यक मात्र नभई आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा चुलिएको हो । 

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा मुलुकको व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड, २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड र २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ थियो । २०७७/७८ मा घाटा चुलिएर एक वर्षमा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकको बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा मुलुकको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । उपभोक्ताको क्रयशक्ति घटेका बेला नेपालको व्यापार घाटा भने बढ्दो छ, यसले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको अर्थ विद पोषराज पाण्डेले बताउनुभयो ।

चालू आर्थिक वर्षको ६ महिनामा कुल वस्तु आयात ५१ दशमलव १ प्रतिशतले वृद्धि भएर ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । पछिल्लो ६ महिनामा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । नेपालमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ । 

भन्सार विभागका अनुसार यस आर्थिक वर्षको गत साउनदेखि मंसिर मसान्तसम्म १ खर्ब ६ अर्ब २७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कोरोना महामारीपछि अर्थतन्त्र चलायमान भएकाले आयात बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बताउनुभयो ।

आयातको तुलनामा निर्यात निकै न्यून छ । २०५० को दशकमा नेपालबाट अधिक निर्यात हुने वस्तुमा उनी गलैंचा र तयारी पोसाकको हिस्सा कुल निर्यातको ८० प्रतिशतभन्दा बढी थियो । आर्थिक वर्ष २०७५–७६ मा यी वस्तुको निर्यात घटेर १२ प्रतिशत हाराहारी आएको छ । 

अघिल्ला दशकमा अग्रस्थानमा रहेको गलैंचा, तयारी पोसाक, ऊनी धागो, पाम तेल, सुपारीको निर्यातमा हिस्सा उल्लेख्य रुपमा घटेको छ । २०७७/७८ मा नेपालको १५ खर्ब ४ अर्ब ३७ करोडको व्यापार भएको थियो । 

चालू आर्थिक वर्षको ६ महिनामा निर्यात ९५ दशमलव ५ प्रतिशतले वृद्धि भएर १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सरकारले निकासीलाई यथेष्ट ध्यान नदिँदा व्यापार प्रभावित भएको नेपाल निर्यात परिषद सदस्य सचिव हरि प्रसाद पोखरेलले बताउनुभयो ।

कुनै बेला उच्चतम बिन्दुमा रही धेरै तल झरेका गलैंचा, तयारी पोसाक, पस्मिना, हस्तकला लगायतको निकासी उकासिन नसक्नु व्यापार घाटाको अहम् कारण हो । विश्व बैंकको एक प्रतिवेदन अनुसार नेपालको निर्यात योग्य क्षमता करीब १० खर्ब रुपैयाँ बराबरी भएपनि उपभोग नहुँदा करीब डेढ खर्बमा सीमित छ । निर्यात प्रर्वधन गर्न नसक्दा त्यस्तो अवस्था आएको अर्थ विद पाण्डेको बुझाइ छ ।

सरकारी निकाय र निजी क्षेत्रबाट निकासी नीति घोषणा गरिएपनि राष्ट्रिय व्यापार नीति समन्वयपूर्ण, एकीकृत र स्थायी हुन सकेको छैन । निकासी व्यापारले अर्थतन्त्रमा ठूलो महत्व राख्दछ । तर अद्यावधिक उचित रणनीतिक नीति नियमको अभावमा निकासी व्यापारमा बिस्तार हुन सकेको छैन । 

निकासी व्यापार प्रवर्धनमा अपेक्षित प्रोत्साहन हुन नसकेकाले नेपाली वस्तुहरुको निकासीमा दिनप्रति दिन कमी हुँदै गएको मानिन्छ । मुलुकको व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाई निकासी प्रवर्धनमा अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याइनु आवश्यक भइसकेको विज्ञहरुको सुझाव छ ।