आर्थिक

बजेट कार्यान्वयनका लागि अर्थमन्त्रालयद्धारा मार्गदर्शन जारी

काठमाडौं


नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले बजेट कार्यान्यवनका लागि मार्गदर्शन जारी गरेको छ । अर्थसचिव मधुकुमार मरासिनीले चालु आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन गर्ने निकायहरुका लागि मार्गदर्शन जारी गर्नुभएको हो । मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको वार्षिक खरिद योजना, विस्तृत डिजाइन , लागत अनुमान लगायतका तयारीका चरणहरु पूरा गरी साउन मसान्तभित्र बोलपत्र आब्हान गरिसक्नुपर्नेछ । 

असोज मसान्त भित्र आयोजनाको मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्नुपर्ने र कात्तिक १५ बाट काम सुरु गर्नुपर्ने उल्लेख गरीएको छ । पुँजीगत खर्च गर्ने कार्ययोजना असोज मसान्तभित्र तयार पारेर त्यसको मासिक प्रगति अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालय/निकायलाई भनिएको छ ।

बजेटमा समावेश नभएका कार्यक्रम र आयोजनामा रकमान्तर गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएमा सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुने उल्लेख छ । त्यस्तै बजेट कार्यान्वयन गर्ने निकायले तोकिएको परिमाण, लागत र गुणस्तरसहित समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्ने व्यवसायलाई पुरस्कृत र समयमै काम पुरा नगर्नेलाई कानुन बमोजिम कारबाही गरी ठेक्का सम्झौता रद्ध गर्नुपर्ने छ । आयोजनाको भौतिक प्रगति र गुणस्तरसमेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

५ करोडभन्दा माथिका सडक, पुल, बाधँ लगायतका पूर्वाधारको निर्माण सम्पन्न भएपछि पनि ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्ने व्यवस्था मिलाउनुपर्ने अर्थमन्त्रालयले जारी गरेको मार्गदर्शनमा उल्लेख छ । यो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको छ ।