लुम्बिनीमा धार्मिक कार्यक्रम हुने भएपछि होटल व्यावसायी उत्साहित
- तिलोत्तमामाघ अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रम आयोजना हुने भएपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । सो कार्यक्रमका लागि माघको २१ देखि २९ गतेसम्म लुम्बिनीका अधिकांश होटल बुक भएपछि व्यवसायी उत्साहित बनेका हुन् । भारतका आध्यात्मिक व्यक्ति मुरारी बापुबाट नौ दिने धार्मिक कार्यक्रम हुन लागेको हो ।
यसअघि कोरोनाका कारण लुम्बिनीका होटल बन्द भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको थिएन । मुरारी बापुबाट लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहलमा ‘रामकथा प्रवचन’ सहितको धार्मिक कार्यक्रम सञ्चालन हुने भएको हो । कार्यक्रम सञ्चालनका लागि लुम्बिनी विकास कोषले अनुमति दिईसकेको जनाएको छ ।
मुरारी बापुको ‘रामकथा प्रवचन’ कार्यक्रम सन् २०१९ मा पनि लुम्बिनीमा गर्ने तय गरिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि कार्यक्रम स्थगित गरिएको थियो । लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले सो धार्मिक कार्यक्रमका लागि लुम्बिनीका दुई दर्जन भन्दा धेरै होटल बुक भईसकेको भन्दै अझै बुकिङ्गको क्रम जारी रहेको बताउनुभयो ।
‘यो कार्यक्रमबाट हामी व्यवसायीलाई धेरै राहत दिनेछ’, ज्ञवालीले भन्नुभयो, ‘कोरोना संक्रमण कम भएपछि लुम्बिनीमा एकै पटक यति धेरै होटल बुक भएको यो पहिलो पटक हो ।’ कार्यक्रम सफल बनाउका लागि गठित रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रले भारत र विभिन्न तेश्रो मुलुकबाट पनि कार्यक्रममा सहभागी हुने जानकारी आइरहेको बताउनुभयो ।
तत्कालका लागि २ हजार श्रद्धालुहरुका लागि बस्ने व्यवस्था स्थानीय होटलमा मिलाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आगन्तुक बढेमा त्यही अनुपातमा थप व्यवस्था मिलाइने छ ।’ मिश्रका अनुसार माघ २१ मा मुरारी बापु भारतको दिल्लीबाट चार्टर विमान मार्फत भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम छ । यस कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।