आर्थिक

काठमाडौं–बेइजिङ उडान ३२ महिनापछि सुरु

- केएफएम डेस्ककाठमाडौं

कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुनः सुरु भएको छ ।

चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो ।

८ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।

काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टा हाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ ।

चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाा वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।