आर्थिक

चालू आवको ६ महिनामा १७ अर्बको लगानी प्रस्ताव

- केएफएम डेस्क काठमाडौं

चालू आर्थिक वर्षको ६ महिनामा १७ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रस्ताव प्राप्त भएको छ । गत साउनदेखि पुससम्ममा १ सय ३१ वटा उद्योगमा १७ अर्ब ३० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार यो गत वर्षको अर्धवार्षिकको तुलनमा १३ अर्ब २६ करोड रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव भएको थियो । विभागका अनुसार १ सय २९ वटा उद्योगमा लगानी प्रस्ताव प्राप्त भएको हो ।

चालू आर्थिक वर्ष सबै भन्दा बढी १ सय १० वटा साना उद्योगमा विदेशी लगानी स्वीकृत भएको थियो । यस्तै, मझौला उद्योगमा १९ र ठूला २ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । विभागका अनुसार सो उद्योगमा ७ हजार ८ सय ४१ जनालाई रोजगार प्रस्ताव गरिएको छ । गत वर्ष सोही अवधिमा ८ हजार १ सय ४६ जनाका लागि रोजगार प्रस्ताव प्राप्त भएको थियो ।

देशमा हालसम्म ५ हजार ६ सय ६४ वटा विदेशी लगानी स्वीकृत हुँदा ४ खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । विभागका अनुसार चालू वर्षमा पेटेन्ट समेत दर्ता भएको छ । हालसम्म ८१ वटा पेटेन्ट दर्ता भएको विभागको तथ्याकं छ ।