आर्थिक

कर्णालीको आगामी बजेट सानो हुने

- तृप्ति शाहीसुर्खेत

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । संघीय सरकारले दिने अनुदानमा कटौती भएपछि कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को बजेटको आकार घट्ने भएको हो । 

संघीय सरकारले वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको सिलिङ घटाएर पठाएको छ । आगामी वर्षका लागि वित्तीय समानीकरण अनुदान अन्तर्गत दश अर्ब १६ करोड बजेटको सीमा अनुमान प्राप्त भएको छ । यो चालू आर्थिक वर्षको भन्दा करीब ५६ करोड कम हो ।

 चालू आर्थिक वर्षमा दश अर्ब ७२ करोड वित्तीय समानीकरणतर्फको बजेट सीमा रहेको थियो । हालसम्म प्रदेश सरकारलाई ६ अर्ब २९ करोड ९१ लाख बजेट मात्र प्राप्त भएको छ । एक अर्ब ३४ करोड बजेट प्रदेश सरकारलाई आउन बाँकी छ । चालू आर्थिक वर्षका लागि कर्णाली सरकारले ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो ।

 संघीय सरकारले दिँदै आएको अनुदानमा धेरै कटौती गरेकाले आगामी बजेटको आकार घट्ने निश्चित रहेको आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताउनुभयो ।