आर्थिक

सुनकोसी–मरिणडाइभर्सन : ९ महिना १० दिनमा सुरुङको काम साढे ७ हजार मिटर, ८ अर्ब ८६ करोड खर्च

- राजकुमार कार्कीसिन्धुली

राष्ट्रिय गौरवका आयोजनाहरुले खर्च गर्न नसकेर काम निराशाजन भइरहेको समयमा सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति लक्ष्य भन्दा बढि भएको छ । गत आर्थिक वर्षमा भौतिक प्रगति लक्ष्य १ सय २० प्रतिशत र वित्तिय लक्ष्य ९९ दशमलब ७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । रकम अभावमा वित्तिय लक्ष्यमा थोरै कमि भएको आयोजनाको दाबी छ । आयोजनाको हालसम्मको प्रगति लक्ष्य भौतिक र वित्तिय १३ प्रतिशत रहेकोमा भौतिकतर्फ २१ दसमलब ४ प्रतिशत र वित्तियतर्फ १९ दसमलब २ प्रतिशत भएको थियो ।

सुनकोसी–मरिण बहुउदेश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार खन्न शुरु भएको ९ महिना १० दिन आजसम्ममा ७ हजार ५सय ७१ मिटर (७.५७१ किमी) सुरुङ खन्ने काम भएको छ । यो ५६ दसमलब ८६ प्रतिशत हो । गत असोज महिनाको २८ गते सुरुङ खन्ने काम थालनी भएको थियो ।

१३ दशमलब तीन किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ७ हजार ५ सय ७१ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । सुरुङ खन्ने कार्य कमलामाई नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल माहाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउँ शीरमा पुगेको छ । १ हजार ३ सय २० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र जुन सबैभन्दा बढि उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरि सुरुङ खन्ने टीबीएम मेशिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेको आयोजना प्रमुख बरालले बताउनुभयो ।

आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्ब ८६ करोड गत आर्थिक वर्ष सम्ममा खर्च भएको छ । यो आयोजनाका लागि शुरुमा २ अर्ब ८ करोड बिनियोजन भएकोमा अपुग भइ थप एक अर्ब ९ करोड सरकारबाट प्राप्त भएको थियो ।

गत आर्थिक वर्षमा ५ अर्ब ४१ करोड प्राप्त भइ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बिनियोजन गरेको रकम ४ अर्ब ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्ब खर्च हुने देखिएको छ । आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने जनाइएको छ ।

प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत गृह, सिंचाइ, सामाजिक लगाएतका काम भएको आयोजनाले जनाएको छ । सुनकोसी र तामाकोसीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का संझौता भइ निर्माण व्यवसायीले काम शुरु गरेको छ । मुल्यवृद्धीसँगै ०८४ सालमा आयोजना सम्पन्न हुँदो कुल लागत बढेर ४९ अर्ब ४२ करोड पुग्ने आंकलन गरिएको छ ।

सुरुङ निर्माणमा हालसम्म एकाध बाहेक कुनै समस्या नआएको भन्दै आयोजना सिनिएर डिभिजन इन्जिनियर अशोकराज गौतमले चुरेको भु–भागमा सकिएर महाभारत क्षेत्रतर्फ सुरुङ खन्न थालेको जानकारी दिनुभयो । कमलामाई नगरपालिका वडा नं २ को धनमना क्षेत्र पार गरेर महाभारत रेन्जमा प्रवेश गरेको उहाँको भनाइ छ । महाभारत क्षेत्रमा कटा चट्टान हुने भएकाले समस्या नआउन गौतमले जिकिर गर्नुभयो । यहि रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ ।

सुरुङ निर्माणमा खटिएका प्राविधिक कर्मचारी तथा कामदारहरुलाई सहज होस भनेर ठुलो पाइपमा अक्सिजन सहित हावा पास गर्ने क्षेत्र बनाइएको छ । सुरुङ निर्माण क्षेत्रमा ठाउँ ठाउँबाट पानी निस्किए पनि ठुलो मुल भेटिएर कामै रोक्नु पर्ने अवस्था आएको छैन । सुनकोसीमा हेडवर्क्स निर्माणको ठेक्का संझौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण शुरु गरेका छन् । उच्च प्रबिधिबाट ५ दशमलब ५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भैरहेको इन्जिनियर गौतमले बताउनुभयो । ल्याब परीक्षणबाट स्विकित भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएको उहाँको दाबी छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा ९ सय मिटर तलपर्छ ।

सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजार १५ अर्ब ५९ करोड ४० लाख रुपैंयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोसीमा बाँध निर्माण लगाएतका कामको १७ अर्ब ७५ करोडको ठेक्का रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाई र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूमेस पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने रहेको छ ।