आर्थिक

तिलोत्तमामा लम्पी स्किनविरुद्धको नि:शुल्क खोप अभियान सुरु

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगविरुद्धको नि:शुल्क खोप अभियान सुरु गरेको छ । आइतबार तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । 

सो अवसरमा नगर प्रमुख रामकृष्ण खाँणले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने बताउनुभयो । क्षति न्युनिकरणका लागि रोग लागेका तथा रोग लाग्नु अघि नै नगरभित्र रहेका सबै पशुलाई खोप सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, उपप्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाट हुने क्षति न्युनिकरणका लागि नगरका कृषकलाई अनिवार्य पशु बीमा कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । राज्यले उपलब्ध गराउने सेवाबाट कोही पनि वञ्चित नहुनेगरी कृषकलाई बीमा कार्यक्रममा सहभागी हुन उहाँले आग्रह गर्नुभयो । 

नगरपालिकाको पशु शाखाकी डा ऊर्जा देवकोटाका अनुसार विशेष गरी गाई गोरुमा लम्पी स्किनको संक्रमण बढी देखिएको छ । तिलोत्तमामा रहेका १० देखि १२ प्रतिशत गाईलाई लम्फी स्किनको संक्रमण रहेको छ । नगरमा करीब ५ हजार २ सय गाई/गोरु रहेका छन् । 

हालसम्म ८० देखि ९० गाई/गोरु यसको संक्रमणबाट मरेको देवकोटाले जानकारी दिनुभयो । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सञ्चालन गरेको गौशालामा समेत खोप अभियान सञ्चालन गरिने छ । तिलोत्तमा नगरपालिकाले नीति कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्ने भनि २० लाख रुपैयाँ विनियोजन गरेको छ ।