आर्थिक

हुम्लामा कोदो महोत्सव हुने

- जनकबहादुर शाहीहुम्ला

रैथाने बाली कोदोको प्रवर्धनका लागि हुम्लामा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ । हुम्लाको अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्धनका लागि अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १५ गते महोत्सव आयोजना गर्न लागिएको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लामा पहिलो पटक हुन लागेको महोत्सवले यसको संरक्षण, प्रवर्धन र प्रसार प्रसारमा सहयोग पुग्ने बताउनुभयो । महोत्सवमा कोदोका विभिन्न परिकारहरु प्रदर्शनी राखिने छ ।

कार्यालयका अनुसार जिल्लामा वार्षिक १ हजार ५ सय ४० टन कोदो उत्पादन हुने गरेको छ । जिल्लाका खेतीयोग्य जमिन मध्ये १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको कृषि विकास कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो ।