बीमा भुक्तानी तत्काल नगरे चितवनका केरा किसानले आन्दोलन गर्ने
-हावाहुरीका कारण केरा खेतिमा नोक्सानी बेहोरेका चितवनका किसानहरुले भुक्तानी पाउनु पर्ने बीमा रकम तत्काल उपलब्ध नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । हावाहुरीले केरा नोक्सान गरेको चितवन खैरहनी नगरपालिका–१० पिपरामा बुद्धि चौधरीले लगाएको केरा बगान आडमा किसानहरुले बुधबार पत्रकार सम्मेलन गरेर बीमा बापतको रकम नपाए चरणवद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् ।
जेठ १७ गतेदेखि २० गतेसम्म चितवनकमा साँझपख लगातार जसो आएको हावाहुरीले १५ करोड रुपैयाँ बराबरको केरा नोक्सान गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताउनुभयो । नोक्सान भएमा राहत होस भनेर केरा किसानहरुले कृषि बीमा गरेपनि गत वर्ष नोक्सान भएकोमध्ये साढे दुई करोड रुपैयाँ अझसम्म भुक्तान हुन नसकेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
उहाँले गत वर्षको रकम तत्काल भुक्तान गर्न, यो वर्ष भएको क्षति एकिन गरी कागजपत्र बुझाएको ३५ दिनभित्र बीमा रकम दिन माग गर्नुभयो ।