आर्थिक

रुपन्देहीमा अनधिकृत रुपमा आयात भएका बीउबिजन नष्ट गरिने

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीमा अनधिकृत रुपमा आयात गरिएका बीउबिजन नष्ट गरिने भएको छ । भैरहवास्थित क्वारेन्टाईन कार्यालयले आयोजना गरेको प्लान्ट क्वारेन्टाईन सम्बन्धी सरोकारवालाको समन्वय बैठकले अनधिकृत रुपमा आयात गरिएका बीउबिजन नष्ट गर्ने कार्यमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको हो । 

नेपालमा दर्ता नभएको बीउबिजनको आयात गर्दा देशको जैविक विविधतामा समेत नराम्रो असर देखिने भएकोले लिलाम प्रक्रिया राष्ट्रिय अर्थतन्त्र तथा जैविक सुरक्षाका निम्ति प्रत्युत्पादन हुन सक्ने बैठकमा औंल्याइएको छ । 

साथै विभिन्न प्रकारका कृषिजन्य वस्तु निर्यात गर्दा निर्यात गरिने मुलुकको नियम/शर्त तथा आवश्यकताको बारेमा निर्यातकर्ताले अनिवार्य रुपमा जानकारी लिने वा कार्यालयसँग समन्वय गर्ने बैठकले निर्णय गरेको क्वारेन्टाईन कार्यालयका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले बताउनुभयो । 

नेपालमा दर्ता नभएका एवं चोरीपैठारीको क्रममा बरामद भई लिलाम भएका बीउबिजन कृषकले लगाउँदा बालीमा दाना नलाग्ने, सिफारिस गरिएको क्षेत्र भन्दा फरक स्थानमा लगाएका उत्पादनमा ह्रास आउने जस्ता समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने क्वारेन्टाईन कार्यालयका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत शालीकराम पौडेलले बताउनुभयो । 

राजस्व संकलनको नाममा अवैध रुपमा भित्रिएका बीउलाई लिलाम गरेर वैध बनाइए त्यसले जोखिम बढाउने उहाँको भनाइ छ । उहाँले निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने भन्दै निर्यातका लागि दुई देशबीच भएका सम्झौता अनुसार शर्त पालना गर्नुपर्ने बताउनुभयो । 

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई भैरहवाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्लेले बीउलाई हल्का तरिकाले हेर्न नहुने बताउनुभयो । 

‘बीउ असाध्यै संवेदनशील हो भन्ने बुझ्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘बीउ आयातलाई व्यवस्थित गर्नुपर्छ । यसमा व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।’ सरकारी निकायले चाहेर मात्र नियमन नहुने उहाँको भनाई छ । 

बैठकमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय गहुँंबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्यालले बीउ बाहिरबाट हेर्दा ठिक भए पनि भित्र जीवाणु बोकेको हुन सक्ने बताउनुभयो । 

‘बीउ स्वस्थ नभए बोट राम्रोसँग उम्रन सक्दैन’, उहाँले भन्नुभयो, बीउसँगै धेरै कुरा भित्रिन सक्छ, जुन हामीले देख्न सक्दैनौँ ।’ रोगी बीउले माटोमा रोग थप्न सक्ने भएकाले गलत बाटोबाट ल्याइएका बीउ खरिद गर्न र बिक्री गर्न नहुने उहाँको भनाई छ ।