आर्थिक

हेटौंडा उपमहानगरको बजेट ४६ करोड रुपैयाँ घट्यो

- प्रताप विष्टसुवास विडारीमकवानपुर

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

आइतबार १५ औं नगरसभा बैठकमा हेटौंडाका उपप्रमुख राजेश बानियाँले चालू आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट सार्वजनिक गर्नु भएको हो । 

राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाइएको उहाँले बताउनुभयो । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेका छन् । 

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा अवास लगाततर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि ४० करोड ६२ लाख रुपैयाँ सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी आगामी वर्षबाट सञ्चालन गर्न ६ करोड रुपैयाँ तथा सहकारी सडक मर्मतका लागि उपमहानगरले १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । 

विभिन्न पूर्वाधार आकस्मिक मर्मतका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उपमहानगरले पदमपोखरी मुख्य सडक विस्तारका लागि ७ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको न्यून महसुल भुक्तानीका लागि २ करोड ८ लाख, नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख, हेटौंडा चक्रपथ अन्तर्गत् १५, १६ र १७ नम्बर वडाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को हेटौंडा उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।