आर्थिक

तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

- माधव अर्यालपाल्पा

पाल्पाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले नगरपालिकाले १५ औं नगरसभा अन्तर्गत पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । 

सभामा उपप्रमुख सिंजालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजार रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वित्तीय व्यवस्था समेत चालूतर्फ ८४ करोड ७७ लाख ७ हजार अर्थात् ४७ दशमलव ९६ प्रतिशत र पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार अर्थात् ५२ दशमलव ४ प्रतिशत रहेको छ । 

आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार रुपैयाँ, भौतिक पूर्वाधारतर्फ ८३ करोड ८१ लाख ९२ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार रुपैयाँ रहेको छ । सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५ हजार रुपैयाँ रहेको छ । 

उपप्रमुख सिंजालीका अनुसार शहरी शासकीय कार्यक्रमतर्फको पुंजीगत रकमका कारण पुंजीगत खर्च बढी देखिएको हो । चालू आर्थिक वर्षमा तानसेन नगरपालिकाले १ अर्ब २ करोड ८० लाख ६४ हजार आय हुने अनुमान गरेकामा जेठ मसान्तसम्म ८० करोड २० लाख १९ हजार अर्थात ७८ प्रतिशत आय भएको छ । 

आयमध्ये यस अवधिमा चालू खर्चतर्फ ५४ करोड १४ लाख २५ हजार रुपैयाँ अनुमान गरेकामा ४७ करोड ९२ लाख ७२ हजार र पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार अनुमान गरिएकोमा १९ करोड २९ लाख २१ हजार गरी ६७ करोड २१ लाख ९४ हजार अर्थात् ६५ दशमलव ३८ प्रतिशत खर्च गरेको उपप्रमुख सिंजालीले जानकारी दिनुभयो ।

सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउँदै वित्तीय अनुशासन र सुशासन कायम गर्ने, नगरवासीको न्यूनतम् आधारभूत आवश्यकताको परिपूर्ति गर्ने, कृषिको व्यवसायीकरण र पर्यटन विकासतर्फ रोजगारी सिर्जना गर्ने र गरिबी न्यूनिकरण गर्ने बजेटको उद्देय रहेको उहाँको भनाई छ । 

सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै विकासमा साझेदार बनाउने प्रेरित गर्ने, उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्ने, समाजवाद उन्मुख आत्मनिर्भर समाज निर्माण गर्न सयहोग पुर्याउने, बजेट नीति तथा कार्यक्रमलाई दिगो विकास लक्ष्यसँग तादम्यता कायम गर्ने उद्देश्य रहेको छ ।

सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवर्धन, पूर्वाधार विकास र पुँजी निर्माण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरण, आयआर्जन र स्वरोजगार र मानव संशाधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन प्राथमिकतामा राखिएको छ । 

आर्थिक, सामाजिक विकासका साथै बहुवर्षीय योजना तथा चालू आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता बजेट विनियोजन भएको उपप्रमुख सिंजालीले बताउनुभयो ।

तानसेन नगरपालिकाको आगामी वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्दा बहुवर्षीय घर आँगनमै नगरप्रमुख, मेयर उत्कृष्ट उद्यमी व्यवसायी, नगर प्रज्ञा प्रतिष्ठान, उपप्रमुखसँग महिला स्वास्थ्य कार्यक्रम, नगरप्रमुख छात्रवृत्ति, महिलामैत्री सहर जस्ता लोकप्रिय कार्यक्रम उल्लेख गरिएको छ । 

स्थानीय साधन स्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजना छनोट गर्ने नगरप्रमख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले स–साना नगरस्तरीय र वडास्तरीय योजनाको संख्या घटाउन निश्चित सिलिङ र मापदण्ड निर्धारण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

बालमैत्री, वातावरणमैत्री, लक्षित वर्गमैत्री, स्थानीय शासन, दिगो विकास र विकासका साझा सवाललाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । नगरपालिकाको आन्तरिक आय, अन्तर सरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँड तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषण गरी समय सापेक्ष ढंगले नीति तथा कार्यक्रम तय गरिएको छ ।

संघ र प्रदेशबाट समानीकरण अनुदान, राजश्व बाँडफाँड तथा सशर्त अनुदान समेत परिवर्तन हुने अवस्थाका कारण कार्यक्रम तथा योजनाको भुक्तानी दिने दायित्व बढ्ने नीति तथा कार्यक्रमा उल्लेख छ । कार्यक्रममा उपप्रमुख सिंजालीले न्यायिक समितिको चालू आर्थिक वर्षको हालसम्मको प्रतिवेदन सभामा पेश गर्नुभयो । 

आर्थिक विकास समितिका संयोजक हेमन्तराज शाक्यले तानसेन नगरपालिकाको आर्थिक विधेयक २०८१, विद्यायन समितिका संयोजक महेश्वर श्रेष्ठले प्रज्ञा प्रतिष्ठान विद्येयक र तानसेन नगरपालिकाको लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक पेश गर्नु भएको थियो ।