आर्थिक

मुलुकभर ६८ प्रतिशत रोपाइँ सम्पन्न

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

मनसुन सक्रिय भएसँगै मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल पनि बढेको छ । सोमबारसम्म देशभरका ६८ दशमलव ६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांक अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ९ लाख ५९ हजार ७ सय ४६ हेक्टरमा रोपाइँ भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा करीब ५६ दशमलव ५ प्रतिशतमा मात्र धान रोपाइँ भएको थियो । 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको छ । सोमबारसम्म सुदूरपश्चिम प्रदेशमा ९५ प्रतिशत, कर्णालीमा ८६ दशमलव २ प्रतिशत र बागमती प्रदेशमा ६९ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । 

सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टर, कर्णालीमा ४१ हजार ९०४ हेक्टर र बाग्मती प्रदेशमा १ लाख १४ हजार ५ सय ६१ हेक्टरमा धान उत्पादन हुने गरेको छ । 

यस्तै, गण्डकीमा ६७ दशमलव ४ प्रतिशत, लुम्बिनीमा ६६ दशमलव ७ प्रतिशत, कोशीमा ६१ दशमलव ७ प्रतिशत र मधेस प्रदेशमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिँचाइको पूर्वाधार नहुँदा रोपाइँ र उत्पादन पूणर्रुपमा आकाशे पानीमा निर्भर छ । 

गत सातादेखि परेको अविरल वर्षाले धान रोपाइँमा वृद्धि भएको मन्त्रालयले जनाएको छ । हालसम्म १५ लाख ५७ हजार १ सय हेक्टर जमिनमा सिँचाइ पुगेको मन्त्रालयको तथ्यांक छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५ दशमलव ७ प्रतिशतमा तह सिँचाइ र ३४ दशमलव १ प्रतिशतमा भूमिगत सिँचाइ छ ।