'मौद्रिक नीतिले निजी क्षेत्रमा सकारात्मक ऊर्जा थपेको छ'
- तिलोत्तमानेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निजी क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गरेको सरोकारवालाले बताएका छन् । मौद्रिक नीतिले आफूहरुमा केही आशा थपिदिएको उनीहरुले बताए ।
तिलोत्तमा व्यापार संघले सोमबार आयोजना गरेको ‘परिवर्तित कर नीति तथा मौद्रिक नीति’ सम्बन्धी अन्तरक्रियामा सरोकारवाला व्यवसायी, बैंकर्स एवं कर प्रशासकले मौद्रिक नीतिले निजी क्षेत्रमा व्यवसायिक लगानीतर्फ आशाको सञ्चार गराएको बताए ।
मौद्रिक नीतिबारे जानकारी दिँदै नेपाल राष्ट्र बैंकको भैरहवास्थित कार्यालयका निर्देशक विज्ञान सुवेदीले गत वर्ष कर्जा प्रवाह न्यून हुँदा मुलुकको समग्र अर्थतन्त्रमा नै शिथिलता आएको बताउनुभयो । यो वर्ष मौद्रिक नीतिले साढे १२ प्रतिशत कर्जा प्रवाह वृद्धि गर्ने लक्ष्य राखेकाले आर्थिक गतिविधि चलायमान हुने उहाँको भनाई थियो ।
कर्जा प्रवाह बढ्दा हुँदा लगानी र रोजगारी वृद्धि हुने भन्दै उहाँले मौद्रिक नीतिले धेरै विषय समेटेको र निर्माण क्षेत्रलाई बढी सम्बोधन गरेको बताउनुभयो । मुद्रास्फिति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेकाले यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने सुवेदीको भनाई छ ।
कार्यक्रममा कर नीतिमा भएका परिवर्तनबारे जानकारी दिँदै भैरहवास्थित आन्तरिक राजश्व कार्यालयका कर अधिकृत धनिश्वर अर्यालले बाहिरबाट आयात हुने वस्तुमा अग्रिम कर लगाइएको भन्दै यसले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले आर्थिक विधेयक २०८१ मा व्यवस्था भएको परिवर्तित कर नीतिका सम्बन्धमा विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले परिवर्तित कर नीति र मौद्रिक नीतिका विशेषताबारे व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।