आर्थिक

कपिलवस्तुको चन्द्रौंटामा ग्रीन ज्याकपट क्यासिनो सञ्चालनमा

- दीपेन्द्र बडुवालभैरहवा

कपिलवस्तुको चन्द्रौंटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा बुधबारबाट ग्रीन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ । भारतीय ग्राहक लक्षित गरेर क्यासिनो सञ्चालनमा ल्याइएको हो । कपिलवस्तुमा सञ्चालनमा आएको यो पहिलो क्यासिनो हो ।

भारतसित जोडिएको प्रमुख सीमा नाका कृष्णनगरबाट २० किलोमिटर उत्तर चन्द्रौटामा सञ्चालनमा रहेको चारतारे सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा आकर्षक गेमिङ सुविधा सहित क्यासिनो सञ्चालनमा आएको हो । सञ्चालनमा आउने बित्तिकै कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने सञ्चालकले जनाएकोे छ ।

एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको सो रिर्सोटमा आधिकारिक रुपमा बुधबारबाट क्यासिनो सञ्चालनमा आएको हो । प्रत्यक्ष ५ सय र अप्रत्यक्ष एक हजार जनालाई रोजगारी उपलब्ध गराउने गरि १५ करोड रुपैयाँ लगानीमा क्यासिनो सञ्चालनमा ल्याइएको क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिनुभयो । 

क्यासिनोका म्यानेजिङ डाइरेन्टर राजिव आचार्यले प्रतिदिन ५ सय भारतीय पर्यटकलाई सेवा दिनेगरि क्यासिनो सञ्चालनमा आएको बताउनुभयो । चन्द्रौंटा र कृष्णनगरलाई पर्यटकीय हबका रुपमा विकास गर्न सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटले क्यासिनो सञ्चालनमा ल्याएको आचार्यको भनाई छ । 

क्यासिनो सञ्चालनले कृष्णनगरबाट मुलुक भित्रिने पर्यटकले गेमिङका लागि लुम्बिनी भैरहवा र नेपालगञ्ज सहर जानुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो ।