विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त
- काठमाडौंनेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा गत शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताउनुभयो । मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको थियो ।
आचार्य र पुनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका थिए । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।
साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए । सोही दिन उर्जामन्त्री दीपक खड्काले उनीहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय गर्नुभएको हो ।