आर्थिक

ढल्केबर–लोहारपट्टी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

- केएफएम डेस्क काठमाडौं

नेपाल विद्युत प्राधिकरणले धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको जनाएको छ । 

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १ सय ३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी हिजोबाट सञ्चालनमा ल्याइएको हो ।

 धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो एवम् गुणस्तरीय बनाउन सरकार र प्राधिकरणबीच करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो । 

सो सबस्टेसनबाट विद्युत आपुर्ति सुरु भएपछि विद्युत चुहावट कम हुने, विद्युत आउने जाने क्रम लगायतका समस्या समाधान हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताउनुभयो ।

 विद्युत आपूर्ति सुरु भएपछि जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुने प्राधिकरणको भनाई छ ।