आर्थिक

तयारी मदिराको आयात घट्यो, कच्चा पदार्थको बढ्यो

- शंकर आचार्यपर्सा

मदिरा आयात हुने प्रमुख नाका सिर्सिया सुक्खा बन्दरगाहबाट तयारी मदिराको आयात घटेको छ । मदिरा उत्पादन गर्ने कच्चा पदार्थको आयात भने बढेको वीरगञ्जस्थित भन्सार कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षमा यो नाका हुँदै १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४ लाख २२ हजार लिटर तयारी मदिरा आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको ४ लाख ४७ हजार ७ सय ३० लिटर तयारी मदिरा आयात भएको थियो । बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार गत वर्ष अघिल्लो आर्थिक वर्ष भन्दा मदिरा उत्पादन गर्ने कच्चा पदार्थको आयात बढेको हो । 

गत आवमा यो नाका हुँदै ६७ करोड ३६ लाख रुपैयाँ बराबरको २ लाख ७० हजार लिटर ह्विस्की उत्पादन गर्ने कच्चा पदार्थ आयात भएको छ । अघिल्लो आवमा ७ करोड ९ लाख रुपैयाँ बराबरको २९ हजार ७ सय ५४ लिटर कच्चा पदार्थ आयात भएको थियो । त्यसैगरी, गत आवमा यो नाका हुँदै मदिरा उत्पादन गर्ने अर्को कच्चा पदार्थ एक्स्ट्रा नेचुरल अल्कोहलको आयात पनि बढेको छ । 

गत आवमा ६३ करोड ५७ लाख रुपैयाँ बराबरको २१ लाख १८ हजार लिटर कच्चा पदार्थ आयात भएको थियो । अघिल्लो आवमा यो नाका हुँदै ३९ करोड ७३ लाख रुपैयाँ बराबरको १३ लाख १६ हजार लिटर यस्तो कच्चा पदार्थ आयात भएको थियो । सुक्खा बन्दरगाह भन्सारको कुल भन्सार राजश्व असूलीमा तयारी मदिराको योगदान उच्च रहने गरेको छ । 

गत आवमा पनि यो भन्सारको राजश्व संकलनमा उत्कृष्ट योगदान गर्ने वस्तुहरुको सूचीमा दोस्रो नम्बरमा तयारी मदिरा थियो । दुबै कच्चा पदार्थहरु भने क्रमशः १५ औं र २० औं स्थानमा छन् । बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सुशील प्रसाद शर्माले यो नाका हुँदै बियर, वाइन, ह्विस्की/भोडका आदि बढी मात्रामा भित्रिने गरेको बताउनुभयो । 

कोलकाता बन्दरगाहसम्म पानीजहाजमा र त्यहाँबाट रेलमा मदिरा आयात गरिन्छ । यसरी रेलमार्गबाट आयात गर्दा सस्तो र क्षति पनि कम हुने गर्दा आयातकर्ताले तेस्रो मुलुकबाट मदिरा आयात गर्न यो नाका रुचाउँछन् । १ कन्टेनर ह्विस्की आयात हुँदा १ करोड ५० लाख रुपैयाँदेखि २ करोड ५० लाख रुपैयाँसम्म र १ कन्टेनर वाइन आयात हुँदा ७०/८० लाख रुपैयाँसम्म राजश्व संकलन हुने गर्छ ।

नेपालमा स्कटल्याण्डबाट जनिवाकर, भ्याट ६९, टिचर्स, अमेरिकाबाट जीमबीम, बेलायतबाट चिवास रिगल आदि ब्राण्डका ह्विस्की बढी आयात हुने गरेको छ । ह्विस्कीमा त्यसको अल्कोहलको मात्राको प्रतिशत (अन्डर प्रुफ) को आधारमा अन्तशुल्क, भन्सार शुल्क लाग्ने गर्दछ । त्यस बाहेक मूल्य अभिवृद्धि कर समेत लाग्छ । 

अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा तयारी मदिराको आयात घट्नुमा भने आन्तरिक मदिरा उद्योगहरु फस्टाएको हुन सक्ने भन्सार अधिकृत शर्माले बताउनुभयो । ‘स्वदेशी उत्पादनको माग बढ्दा विदेशी उत्पादनको माग घटेर यस्तो भएको हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘मदिरा उत्पादन गर्ने कच्चा पदार्थको आयात बढ्नुले पनि यस्तै संकेत गर्छ ।’