आर्थिक

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ४० प्रतिशत काम सकियो

- ज्योति कटुवालदैलेख

दैलेखको भैरवी गाउँपालिको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको ४० प्रतिशत काम सम्पन्न भएको छ । ४ महिनाको अवधिमा काम सक्ने गरी गत जेठदेखि ड्रिलिङ सुरु गरिएको थियो । 

नेपाली तथा चिनियाँ टोलीले ३ महिनादेखि २ चरणमा काम गर्दै आएका छन् । वर्षौदेखि ज्वाला बलिरहेको सो स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन भूगर्भविद् सुरेश श्रेष्ठले बताउनुभयो । 

चार महिनामा काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिए पनि जमिनमुनि कडा चट्टानका कारण २ महिना ढिला हुने अनुमान गरिएको छ । भूगर्भविद् श्रेष्ठले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म १ हजार ६ सय ६६ मिटर ड्रिलिङ भइसकेको जानकारी दिनुभयो ।

‘अहिले विज्ञहरुले २÷२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन्’, उहाँले भन्नुभयो, ‘२७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ ।’ भूगर्भविद् श्रेष्ठले पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको बताउनुभयो ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहेको हो । भूगर्भविद्ले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।