आर्थिक

दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा सुस्ताको चिस्यान केन्द्र

- नवीन पौडेलनवलपरासी पश्चिम

नवलपरासी पश्चिमको सुस्तामा दुई वर्षअघि निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । सुस्ता गाउँपालिका–४ नर्सहीमा निर्माण गरिएको चिस्यान केन्द्र कार्यविधि अभावमा विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ । 

चिस्यान केन्द्र सञ्चालन नहुँदा सुस्ताका किसानहरु समस्यामा परेका छन् । गाउँपालिकाले कार्यविधि बनाउन बेवास्ता गर्दा २०७९ मा निर्माण सकिएको चिस्यान केन्द्र अझै प्रयोगमा आउन नसकेको केरा उत्पादक किसान समितिका जिल्ला अध्यक्ष लख्खु यादवले बताउनुभयो । 

केरा खेतीका लागि प्रशिद्ध सुस्तामा चिस्यान केन्द्र नहुँदा सस्तोमा बिक्री गर्नु परेको र तत्काल बिक्री हुन नसकेका उत्पादन खेर जाने समस्या भएको उहाँको भनाई छ । 

चिस्यान केन्द्र सञ्चालनका लागि कार्यविधि बनाउने र केही भौतिक संरचना थप गर्नुपर्ने भएकाले सञ्चालनमा ढिलाई भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताउनुभयो । गाउँपालिकाको ४ करोड ९९ लाख रुपैयाँ लागतमा २०७९ मा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको हो ।