आर्थिक

सिमेन्टमा आत्मनिर्भर नेपालः बजार विस्तार भए व्यापार घाटा कम गर्न सकिने

- असिम सापकोटा काठमाडौं

गत आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । सरकारी तथ्याङ्क अनुसार २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र क्लिंकर निर्यात भएको हो । सिमेन्टमा नेपाल आत्मनिर्भर हुँदै गएपनि पछिल्ला केही बर्षमा भने बजार खुम्चिदा उत्पादन घटेको उद्योगी व्यवसायीको भनाइ छ । तर विज्ञका अनुसार नेपालमा उत्पादित सिमेन्टलाई अन्तराष्ट्रिय बजारमा लैजान सकिएमा मुलुकको व्यापार घाटालाई कम मद्धत गर्न सक्छ ।

नेपालमा सबैभन्दा पहिलो पटक विक्रम सम्वत् २०३२ सालमा सरकारी स्वामित्वमा काठमाडौँको चोभारमा हिमाल सिमेन्ट उद्योग लिमिटेड सञ्चालनमा आएको थियो । जसको चार वर्षपछि मकवानपुरमा हेटौडा सिमेन्ट उद्योग लिमिटेड सञ्चालनमा आएको हो । उद्योग विभागको एक अध्ययन अनुसार सिमेन्ट प्रयोग भने नेपालमा २००७ सालपछि सुरु भएको थियो । २०१३ सालको पहिलो पञ्चवर्षीय योजनाले औद्योगिकीकरण प्रक्रिया अघि बढायो भने दोस्रो पञ्चवर्षीय योजनाले सिमेन्ट उद्योग खोल्न सिफारिस गरेको थियो । विगतलाई हेर्ने हो भने २०४२ देखि २०६० सालको अवधिलाई नेपालमा सिमेन्ट उद्योग विस्तारको महत्वपूर्ण काल खण्ड मानिन्छ । र, निजी क्षेत्रबाट सिमेन्ट उद्योग स्थापनाको क्रम बढेको हो । पछिल्लो बर्षमा भने अर्थतन्त्रमा आएको शिथिलतासँगै सिमेन्टको खपत कम हुँदा उत्पादन पनि घटिरहेको व्यवसायीहरु बताउँछन् । देशभित्र उत्पादन भएका सिमेन्टको प्रयोग बढाउन विभिन्न उपाय हुने उनीहरुको भनाइ छ । अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुुपति मुरारकाले भने–“विकास निर्माणको काम द्रुत गतिमा गर्नुप¥यो । विकाशे परियोजनामा राज्यले पैसा लगानी गर्दा अर्थतन्त्रमा आएको शिथिलतालाई चलायमान बनाउन सहयोग गर्छ ।”

सरकारले आर्थिक वर्ष ०७६÷७७ देखि सिमेन्टलाई निर्यातयोग्य वस्तुको सूचीमा राखेको थियो । गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर नेपालबाट निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा उत्पादित सिमेन्टलाई बाह्य बजारमा लैजान सकिएमा निर्यात अझ बढाउन सकिने विज्ञहरुको भनाइ छ । नेपाली सिमेन्टको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने प्रश्नमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पुर्व सचिव पुरुषोत्तम ओझाले भने–“भारत र बङ्लादेशको सिमेन्टको गुणस्तर र नेपाली सिमेन्टको गुणस्तरको समानीकरण गर्नुप¥यो । जसले गर्दा यहाँ हामीले उत्पादन गरेको सिमेन्ट छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा कसरी गर्न सकिन्छ भनेर राज्यले अघि बढ्नुको विकल्प छैन ।”

मुुलुुकको व्यापार घाटालाई सन्तुलनमा राख्न सिमेन्टले योगदान गर्न सक्ने व्यवसायीले बताएका छन् । सिमेन्टसहितका निर्माण सामाग्रीको निर्यात बढाउन सकिएमा व्यापार घाटालाई न्युुनीकरण गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको भनाइ छ । उनले भने–“मुलुकको व्यापार घाटा सन्तुलन गर्नका लागि क्लिंकर र सिमेन्ट अर्को खानीजन्य पदार्थ ढुंगागिटी जस्ता पदार्थलाई ठूलो मात्रामा निर्यात गर्न सकिएमा अहिले भएको व्यापार घाटा घटाउन सकिन्छ । हामीसँग निर्यात गर्न सकिने सम्भावना भएको पदार्थ निर्यात गर्ने हो । सिमेन्टले राम्रो सम्भावना देखाएको छ ।”

यता, सरकारले पनि सिमेन्ट उद्योगलाई थप सहुलियत प्रदान गरी आन्तरिक रुपमा सिमेन्ट उत्पादनलाई प्राथमिकता दिएको बताएको छ । सिमेन्ट उद्योगको बजारीकरणका लागि कस्ता पहल भइरहेका छन् भन्ने प्रश्नमा उद्योग वाणिज्य तथा आपूुर्ति मन्त्री दामोदर भण्डारीले भने–“स्वदेशमा उत्पादित सामाग्रीहरुको निर्यातका लागि आवश्यक बनाउने काम तथा सहजीकरण गर्ने तर्फ मन्त्रालयले पहल गरिरहेको छ ।”

उद्योगी व्यवसायीका अनुसार हाल सिमेन्ट उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी अहिले १ लाख जनाले रोजगारी पाएका छन् । सिमेन्ट उद्योग संघका अनुसार हाल नेपालमा ६५ वटा उद्योग छन् । जसमा क्लिङ्करमा आधारित उद्योग ४४, चुनढुुंगामा आधारीत उद्योग २१ वटा छन् ।ती उद्योगहरुको उत्पादन क्षमता प्रतिबर्ष २५ मिलियन टन रहेको बताइन्छ ।