आर्थिक

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार बजेट ल्याउने

- अर्जुन शाहधनगढी

सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते सोमबार चालू आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताउनु भएको हो । 

मुख्यमन्त्री शाहले गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेट सम्बन्धी कानून फिर्ता लिएर नयाँ बजेट ल्याउने तयारी गरेको जानकारी दिनुभयो । ‘संवैधानिक र कानूनी प्रक्रियामा रहेर नै बजेट आउँछ’, उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले बजेट पुन: लेखन गरेको छ ।’ 

उहाँले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारभित्रै रहेर बजेट तयार गरिएको बताउनुभयो । २५ लाख भन्दामाथिका योजना राख्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित शसर्त अनुदानको रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत नगरिने आधार तय गरिएको उहाँले यसअघि नै सार्वजनिक गर्नु भएको थियो ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले बजेट निर्माणमा जुटेको हो । यसअघिको सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट अलपत्र परेपछि यो प्रदेश दुई महिनादेखि बजेट शून्यताको अवस्थामा छ ।