आर्थिक

५ गुणले बढ्यो चिनियाँ पकेट लाइटरको आयात

- शंकर आचार्यपर्सा

सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै गत आर्थिक वर्षमा अप्रत्याशित रुपमा पकेट ग्यास लाइटर आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करीब ५ गुणा बढी लाइटर आयात भएको हो । 

अघिल्लो आर्थिक वर्षमा ४५ करोड ५१ लाख रुपैयाँ बराबरको ८ करोड ७१ लाख ८६ हजार थान पकेट लाइटर आयात भएको थियो । गत आवमा भने २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ बराबरको ४२ करोड ५६ लाख ८८ हजार थान पकेट लाइटर आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । 

देशको जनसंख्या भन्दा पनि ८ गुणा बढी लाइटर आयात हुनुले चीनबाट भित्र्याएर भारत तस्करी हुने गरेको भेटिएको छ । यस्ता लाइटर विशेष गरी धुम्रपान गर्ने व्यक्तिले बोक्ने तथा होटेल एवम् रेष्टुराहरुमा बढी प्रयोग हुन्छ । तर, देशको कुल जनसंख्या भन्दा ८ गुणानै बढी आयात भएपछि माग भन्दा धेरै बढी आयात भएर दुरुपयोग भईरहेको साबित भएको छ । 

देशका विभिन्न नाकाहरु मध्ये सिर्सिया सुक्खा बन्दरगाहबाट बढी मात्रामा यो वस्तुको आयात हुन्छ । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख शुशील प्रसाद शर्माले एक वर्षको अवधिमै ५ गुणाले ग्यास लाइटरको आयात बढेपछि आफूहरु पनि चकित भएको बताउनुभयो । 

‘तस्करीको आशंका बढेपछि भन्सार विभागले चालू आर्थिक वर्षको बजेट भाषणबाटै लाइटरको भन्सार महशुल वृद्धि गरी दोब्बर बनाएको छ,’ उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा लाइटरमा भन्सार महशुल १५ प्रतिशत रहेकोमा चालू आवका लागि दोब्बरीले वृद्धि गरी ३० प्रतिशत पुर्‍याइएको छ, यस बाहेक १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।’

भन्सार शुल्क वृद्धि भएदेखि चालू आर्थिक वर्षमा यसको आयात घट्ने प्रबल सम्भावना रहेको शर्माले बताउनुभयो । भारतले स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न कतिपय वस्तुको आयातमा रोक लगाएको छ । 

आयात निरुत्साहित गर्न भारतले कतिपय वस्तुको आयातमा नेपाल भन्दा बढी भन्सार शुल्क पनि लिन्छ । त्यस्ता वस्तुहरु भारत भन्दा नेपालमा सस्तो हुन जान्छ । यस्तो अवस्थामा त्यस्ता वस्तुको नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा यसरी नै मरिच तेस्रो मुलुकबाट आयात भई नेपालबाट भारततर्फ तस्करी हुने गरेको थियो । पछि भन्सार विभागले यसको अप्रत्याशित आयात रोक्न भन्सार महशुल वृद्धि गरेपछि आयात घटन गएको थियो ।