आर्थिक

कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौं

प्रतिष्ठा निरौला (प्रशिक्षार्थी)

उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । एसियाली सुरक्षण संस्थाहरुको काठमाडौंमा आयोजित ३६ औं सम्मेलनमा वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् । प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । 

कुल जनसंख्याको अत्यन्त कम अर्थात् १८ प्रतिशतले मात्रै कर्जा लिएको उहाँले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उहाँको धारणा थियो । तर महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उहाँले बताउनुभयो । सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायहरुको उपस्थिति छ । नेपालले ३० बर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।