आर्थिक

सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित

- अर्जुन शाहधनगढी

सुुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सभाको आजको बैठकले चालू आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको हो । 

बजेट पारित भएसँगै दुुई महिना भन्दा लामो समयदेखिको बजेट शून्यता हटेको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गर्नु भएको थियो । 

यसअघि सत्तारुढ दलकै असन्तुष्टिका कारण पाँच दिनसम्म बजेटमाथि छलफल रोकिएको थियो । सत्तारुढ दलका सांसदबीच मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गरेपछि हिजो बैठक बैठक बसेको हो । तर, बैठक प्रतिपक्षीविहीन हुने भएपछि हिजो साँझ आह्वान गरिएको दोस्रो बैठक पनि स्थगित गरी आज बिहानका लागि आह्वान गरिएको थियो । 

प्रदेश सरकारले गत असार १ मा बजेट ल्याउनुपर्ने कानूनी प्रावधान छ । सुदूरपश्चिममा पनि असार १ मा अघिल्लो सरकारले बजेट ल्याए पनि पारित हुन नसकेपछि वर्तमान सरकारले असार १ मा प्रस्तुत बजेट फिर्ता लिएर अर्को बजेट ल्याएको हो ।