आर्थिक

खाद्य सुरक्षा सुधारका लागि अमेरिकी सहयोगमा परियोजना

काठमाडौं ।

प्रतिष्ठा निरौला (प्रशिक्षार्थी पत्रकार)

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडले नेपालमा खाद्य सुरक्षा सुधारका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना घोषणा गरेको छ । नेपाली किसानहरूलाई सहयोग गर्ने उद्देश्यसहित परियोजना घोषणा भएको युएसएडले जनाएको छ । सो परियोजनाले संघ, प्रदेश र स्थानीय सरकारमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई सुदृढ गर्न क्षमता अभिवृद्धि गर्नेछ ।

त्यस्तै, परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यास अपनाउन सहयोग गर्ने संस्थाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । परियोजना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवद्र्धन गर्न दुबै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै यस सहकार्यप्रति नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।