आर्थिक

साउन र भदौमा झण्डै ३ करोड रूपैयाँको प्याज आयात

- केएफएम डेस्ककाठमाडौं

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात भएको छ ।

गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २ सय ८७ दशमलव ४३ प्रतिशतले बढी प्याज आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार दुई महिनामा १ लाख ६ हजार ४ सय ३३ किलो प्याज आयात गरिएको हो ।

गत आर्थिक वर्षको साउन र भदौमा भने ७७ लाख ३२ हजार रूपैयाँ बराबरको ५० हजार ५ सय २७ किलो प्याज आयात भएको थियो । त्यस्तै नेपालमा चीन र भारतबाट सुकेको प्याज आयात हुने गरेको विभागले जनाएको छ ।

त्यसैगरी भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रूपैयाँको प्याज आयात गरिएको विभागको भनाई छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ९ करोड रूपैयाँको ५ लाख ९३ हजार ५ सय ७६ किलो प्याज आयात भएको थियो भने सबैभन्दा बढी भारतबाट ५ करोड ५८ लाख ७२ हजार रूपैयाँको र चीनबाट ३ करोड ४१ लाख ४८ हजार रूपैयाँको प्याज आयात गरिएको थियो ।