आर्थिक

पेट्रोलिय पदार्थको मूल्य घट्यो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाएको जनाएको हो । 

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल÷ मट्टीतेलमा प्रति लिटर २÷२ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ घटाइएको निगमले जनाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ४५ ले घटाइएको निगमले जनाएको छ । 

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको हो । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सञ्चालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मूल्य घटेसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल १५५ रुपैयाँ ५० पैसा तथा डिजेल÷मट्टितेलको भाउ प्रतिलिटर एक सय ४४ रुपैयाँ ५० पैसा कायम भएको छ । 

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १ सय ४६ रुपैयाँ तोकिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ५८ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । 

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।