आर्थिक

नेपालबाट बंगलादेशमा विद्युत व्यापार गर्ने ऐतिहासिक त्रिपक्षीय सम्झौता

- केएफएम डेस्ककाठमाडौं

नेपाल, भारत र बंगलादेशका तीन निकायबीच विद्युत् बिक्री सम्झौता भएको छ । तीन वर्षदेखि दक्षिणी छिमेकीमा भारतमा विद्युत् निर्यात गर्दै आएको नेपालले त्रिदेशीय सम्झौतापछि बंगलादेशमा बिजुली बिक्रीका लागि बाटो खुलेको छ ।

काठमाडौंमा आज नेपाल विद्यत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच त्रिपक्षीय सम्झौता भएको सम्वद्ध अधिकारीहरुले बताएका छन् । पहिलो चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसामा बंगालदेशलाई विद्युत् निर्यात गर्ने छ । पहिलो चरणमा ५ वर्षसम्म विद्युत् निर्यात सम्झौता गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुँदा वार्षिक करिब १ खर्ब २१ करोड रुपैयाँ प्राप्त हुने भएको छ ।

सम्झौतापछि नेपालले भारतको मुजफ्फरपुरमा विद्युत् मिटरमार्फत् बंगलादेशमा भएको विजुली निर्यात रेकर्ड राख्ने बताइएको छ । सम्झौताअघि प्रधानमन्त्री केपी ओलीसँग नेपालमा भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवान हसनले शिष्टाचार भेट गर्नुभएको थियो ।

भेटका क्रममा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।