आर्थिक

दुई इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं

नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिदिएको छ ।

 सार्वजनिक सूचना प्रकाशन गर्दै आज प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिकको लाइन्सेन्स खारेज गरिएको जनाएको हो ।

सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्तबमोजिम सेवा सञ्चालन नगरेको भन्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) अनुरुप लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ । पर्सास्थित वीरगञ्ज–१६ को सी.डाटा कम्युनिकेसनले २०७६ माघ १९ मा (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।

 प्राधिकरणले गत कात्तिक २ देखि नै लागू हुने गरी लाइसेन्स खारेज गरिएको जनाएको छ ।यस्तै, सुर्खेत, वीरेन्द्रनगर–६ को लाइफ नेट प्रालिले अनुमतिपत्र नवीकरणका लागि समयावधिभित्र निवेदन पेस नगरेकाले भदौ ३० देखि लाइफ नेटको लाइसेन्स स्वतः रद्द भएको जनाएको छ ।

 लाइफ नेटले २०७६ भदौ ३० मा (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो । दूरसञ्चार ऐनको दफा २५ (५) अनुसार तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ । दूरसञ्चार ऐनले अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने र एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने उल्लेख छ ।