साल्ट ट्रेडिङको १ सय ५० टन चिनी भित्रियो
- पर्सानजिकिएको तिहार र छठलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आयात गरेको १ सय ५० टन चिनी नेपाल भित्रिएको छ । साल्ट ट्रेडिङको वीगरगञ्जस्थित मधेश प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार असोज २४ देखि वीरगञ्ज भन्सार नाका हुँदै चिनी भित्रिन थालेको हो ।
साल्ट ट्रेडिङले गत वर्षकै सरकारी कोटा अन्तर्गत भारतबाट ५ हजार ४ सय ५० टन चिनी भित्र्याउँदै छ । भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड नयाँ दिल्ली आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्ट अन्तर्गत सबै चिनी भारतको उत्तर प्रदेश राज्यको गोबिन्द सुगर मिल्स लखिमपुर छेहरीबाट खरिद गरी नेपाल ल्याउने भएको हो ।
दशैं अघि पहिलो लटको चिनी भित्रिएको र दशैंपछि फेरि भित्रिने क्रम सुरु भएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिनुभयो । भारतीय उद्योगबाट ट्रकमा चिनी लोड भई आउने क्रममा नै रहेको उहाँको भनाई छ । ‘पाइपलाइनमा थप चिनी छ, दैनिक रुपमा भित्रिँदै जानेछ,’ उहाँले भन्नुभयो, ‘कात्तिक मसान्तसम्म ठेकेदारले सबै चिनी वीरगञ्ज भन्सार नाकामा ल्याइसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।’
उद्योगबाट ट्रकमा लोड गरी सोझै वीरगञ्ज नाकासम्म चिनी ल्याइँदैछ । एउटा ट्रकले ३० देखि ४० टन सम्म चिनी बोक्छ । वीरगञ्ज नाका हुँदै हालसम्म भित्रिएको १ सय ५० टन चिनी साल्ट टे«डिङको वीरगञ्जस्थित गोदाममा भण्डारण गरिएको छ ।
केन्द्रबाट प्राप्त निर्देशन अनुसार माग भएका जिल्लाहरुमा चिनी पठाइने लामिछानेले बताउनुभयो । संघीय सरकारले साल्ट र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गत वर्षनै चिनीको कोटा दिएकोमा साल्टले गत वर्षकै कोटाबाट हाल चिनी आयात गरिरहेको छ ।
दशैंको तुलनामा तिहार र छठ पर्वमा चिनीको माग बढी हुने गरेको छ । यस कारण पनि सकेसम्म पर्व अगावै माग भएका जिल्लाहरुमा चिनी पठाउने तयारीका भईरहेको कार्यालयले जनाएको छ ।