आगामी पुषदेखि स्टार्टअप कर्जा दिने सरकारको तयारी
- काठमाडौंसरकारले आगामी पुषदेखि स्टार्टअप कर्जा दिने तयारी गरेको छ । उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय प्रतिष्ठान लेस्टार्टअप कर्जाका लागि गत भदौमा आवेदन माग गरेको थियो ।
नयाँ उद्यम गर्न चाहने युवाहरुका लागि लक्षित गरेर आवेदन माग गरिएकोमा अहिलेसम्म ५ हजार १ सय ६१ वटा प्रस्ताव पेश भएको प्रतिष्ठानले जनाएको छ ।
स्टार्टअप कर्जाका लागि सरकारले चालु आर्थिक वर्षमा १ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । छनोट भएका स्टार्टअपले ३ प्रतिशत ब्याजमा न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म पाउने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले जानकारी दिनुभयो । गत आर्थिक वर्ष १ सय ८३ जनाले स्टार्टप कर्जा लिएर व्यवसाय सुरु गरेका थिए ।
युवा उद्यमशिलता विकास एवं रोजगारी सिर्जनाका लागि भन्दै सरकारले स्र्टाटअप कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । औद्योगिक व्यवसाय प्रष्ठिानको समन्वयमा राष्ट्रिय बाणिज्य बैंक मार्फत कर्जा प्रदान गर्ने गरी दुवै निकायबीच गत भदौमा सम्झौता भईसकेको छ ।