पूर्व तयारी फास्ट ट्रयाकमा गर्ने अर्थ मन्त्रालयको निर्णय
-विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यस्तै, तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ पहुँच तथा उत्थानशीलताको लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ ।
बैठकले सन् २०२५ को फेब्रुवरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय समेत गरेको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरु पेस गरिने योजना रहेको जनाइएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले आफ्नो आवश्यकताअनुसार नेपालले सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताउनुभयो ।