आर्थिक

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा उडान गर्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

कतार एयरवेजले आजदेखि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिपछि कतार एयरवेजले भैरहवामा दैनिक उडान भर्न लागेको हो । 

कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्ने प्राधिकरणले जनाएको छ । दोहाबाट विमान हरेक दिन दिउँसो पौने ३ बजे भैरहवा अवतरण हुने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । त्यसपछि सो विमान पौने ५ बजे काठमाडौंस्थित त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । 

काठमाडौंबाट अन्तर्राष्ट्रिय गन्तव्यका यात्रु लिएर विमान ६ बजेर ५५ मिनेटमा दोहाका लागि उड्नेछ । यसअघि सो वायुसेवा कम्पनीले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । 

यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ ।

३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि नागरिक उड्डयन प्राधिकरणमा अनुमतिका लागि पठाएको कतारको शीतकालीन उडान तालिकाको प्रस्तावलाई आइतबार स्वीकृति प्रदान गरिएको हो । 

प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले कतारलाई दैनिक उडान अनुमति दिएको छ । कतारले दोहा–भैरहवा रुटमा एकतर्फी हवाई टिकटको शुल्क न्यूनतम ८ सय १० देखि अधिकतम १६ सय ५३ अमेरिकी डलर हुने जनाएको छ । गौतमबुद्ध विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गर्न थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायी र सरोकारवाला उत्साहित छन् ।