निगमले बढायो डिजेल र मट्टितेलको मूल्य
- काठमाडौंनेपाल आयल निगमले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजोको बैठकले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३२ पैसा र डिजेलमा २ रुपैयाँ ५४ पैसा बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा डिजेल/मट्टितेल प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ५२ रुपैयाँ तोकिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।