आर्थिक

अर्थमन्त्री पौडेल र अमेरिकाका सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । 

अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको हो । 

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा अमेरिकाका सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको बताउनुभयो । 

‘लु’ले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको बताउनु भएको थियो । नेपालको तीनदिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू हिजो काठमाडौं ओर्लिनु भएको हो । भारत र श्रीलंकाको भ्रमणपछि उहाँ नेपाल आउनु भएको हो ।

लुले हिजो नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नु भएको थियो ।