आर्थिक

आगामी पुस १७ गतेदेखि सेनेटरी प्याड निर्यात पुनः रोकिने

- केएफएम डेस्क

आगामी पुस १७ गतेदेखि सेनेटरी प्याड निर्यात पुनः रोकिने भएको छ । भारतीय निकाय ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड – बीआईएसले आयात हुने सबै सेनेटरी प्याडलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेका कारण प्याड निर्यात रोकिने भएको हो । स्वदेशी उद्योगको संरक्षण गर्न भन्दै भारतले एक वर्षअघि नै बीआईएस अनिवार्य गरेको थियो । गत अक्टोबर १ देखि भारतमा अन्य मुलुकबाट निर्यात हुने प्याड र बेबी डाइपरमा बीआईएस अनिवार्य थियो । 

बीआईएस लागू हुनासाथ नेपालबाट निर्यात हुने प्याड र बेबी डाइपरसमेत रोकिएको थियो । सो लगत्तै भारतले २३ अक्टोबरमा एक सूचना जारी गर्दै जनवरी १ देखि लागू हुने भन्दै दुई महिनाका लागि म्याद थप गरेको थियो । एक वर्षअघि नै नेपालका उद्योगीले समेत भारतको बीआईएसमा आवेदन दर्ता गराएका थिए । बीआईएसबाट निरीक्षण टोली उद्योग अनुगमनमा आउने, ‘फ्याक्ट्री अडिट’ गर्ने प्रक्रिया थियो । 

यद्यपी, हालसम्म नआएको उद्योगीहरू बताउँछन् । गत आर्थिक वर्षको पहिलो चार महिनामा १२ करोड ६५ लाख ६७ हजार रूपैयाँको प्याड निर्यात भएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७ करोड ७७ लाख ६४ हजार रूपैयाँको प्याड निर्यात भएको छ । विभिन्न मुलुकबाट प्याड आयात भए पनि नेपालबाट भने भारतमा मात्रै निर्यात हुने गरेको छ ।