२४ औं औद्योगिक व्यापार मेला बुधबारदेखि
- तिलोत्तमारुपन्देहीको बुटवलमा बुधबारदेखि २४ औं संस्करणको औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना हुने मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा मेला हुन लागेको हो । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने मेला १६ दिनसम्म चल्नेछ ।
उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रको खोजी गरी रोजगारीका अवसर सिर्जना गर्न अझ परिस्कृत रुपमा यो मेलाको आयोजना गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
औद्योगिक उत्पादनको प्रवर्धन, कृषि, पर्यटनको प्रवर्धन तथा व्यवसायीकरणका लागि विशेष महत्वका साथ आयोजना हुने मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्यूटि, गार्मेन्ट, जुत्ता, फूड एण्ड वेभरेज, अटोमोबाइल्स र होटलका छुट्टाछुट्टै १० वटा पेभिलियन रहने छन् ।
मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने अर्यालले बताउनुभयो ।
मेलामा ५ सय स्टल रहने छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन, चुट्का प्रतियोगिता, हास्यव्यंग्य, ब्यूटि शो र टिकटक लगायतका प्रतियोगिता गरिने छ ।
मेलामा सर्वसाधारणका लागि ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै, जेष्ठ नागरिक, असक्त, अपांगता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।