दिगो आर्थिक विकासका लागि चेम्बर र यूएनडीपीबीच सम्झौता
- काठमाडौंनेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सम्झौतामा भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित एक कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र यूएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, विपद व्यवस्थापन एंव यूनडीपीले तय गरेका विकास लक्ष्य पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको चेम्बरले जनाएको छ । प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ ।
जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाएका छन् । चेम्बर र यूएनडीपीबीच भएको सहमति तत्कालै कार्यान्वयनमा आउने अध्यक्ष अग्रवालले बताउनुभयो ।
राष्ट्रसंघीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपूर्ण भएको अग्रवालको भनाई छ ।
यूएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्य पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने चेभिलार्डको भनाई छ । नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तन विरुद्ध चेम्बरसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।