पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति
-नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्नेगरी काम गर्ने सहमति भएको छ । काठमाडौंको एक होटलमा सुरु भएको ‘स्टेरिङ कमिटी’ बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै सक्ने सहमती गरेको हो । यस्तै, पाइपलाइन र स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणको क्रममा कुनै समस्या आए तत्काल समाधान गरेर समाधानको बाटो देखाउने पनि सहमति भएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बैठकले पाइपलाइन कसरी सञ्चालन गर्ने, समस्या आए तत्काल समधान गरेर बाटो देखाउने सहमति गरेको छ । बैठकमा निगमका तर्फबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक विनितमणि उपाध्यायलगायत सहभागी थिए ।
आईओसीका तर्फबाट नेपालको कन्ट्री म्यानेजर निरुपम रायजादासहित अनिरुद्ध थाटे, प्रबिनकुमार सहभागी थिए । बैठकले पाइपलाइन प्रोजेक्ट निर्माणको क्रममा चाहिने वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (इआईए) प्रतिवेदनका बारेमा पनि छलफल भएको छ । स्टेरिङ कमिटीको यो दोस्रो बैठक हो । पहिलो बैठक २०२४ अक्टोबर १४ अक्टोबरमा अनलाइनमार्फत भएको थियो ।