नेपालबाट १३ अर्ब बढीको विद्युत भारतीय बजारमा निर्यात
- काठमाडौंनेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको ५ महिनाभित्र १३ अर्ब रुपैयाँ बढीको विद्युत भारततर्फ निर्यात भएको जनाएको छ ।
यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म मुलुकभित्र खपत गरी बाँकी भएको विद्युत भारततर्फ निर्यात गर्दा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार र्भएको हो । विद्युत औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसामा बिक्रि गरिएको थियो ।
प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज दोस्रो साता आएको बाढीपहिरोका कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । चालू आर्थिक वर्षमा प्राधिकरणले करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखेको छ ।