आर्थिक

परियोजनाको उद्घाटन नहुँदा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात रोकियो

- शंकर आचार्यपर्सा

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपालाइनबाटै डिजेलसँगै पेट्रोल र मट्टितेल ल्याउने तयारी पूरा गरेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले पाइपालाइनबाटै डिजेलसँगै पेट्रोल र मट्टितेल ल्याउने सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । ‘गत जनवरीबाटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल भित्र्याउने लक्ष्य राखिए पनि कोरोना माहामारीका कारण पाइपलाइनको दोस्रो परियोजना एक वर्ष ढिलो हुन गएको हो,’ उहाँले भन्नुभयो, ‘हाल पाइपलाइनको दोस्रो परियोजना सम्पन्न भई पाइपलाइबाटै पेट्रोल र मट्टितेल ल्याएर सफल परीक्षण समेत भईसकेको छ ।’

आगामी जनवरीदेखि पट्रोल र मट्टितेल नियमित रुपमा भित्र्याउने लक्ष्य रहेको आचार्यले बताउनुभयो । दोस्रो परियोजनाको उद्घाट्न जनवरीमै गर्ने लक्ष्य रहेपनि मिति तय भईनसकेको उहाँको भनाई छ । परियोजना उद्घाटनको लागि संघीय सरकारलाई अनुरोध गरिसकिएको तर उद्घाटन मिति तय हुन नसकेको हो । 

पाइपलाइन परीक्षणको क्रममा पाइपलाइनबाटै यसै वर्षको अक्टोबर ४ मा पहिलो चरणमा ५ हजार ५ सय किलोलिटर पेट्रोल र नोभेम्बर ११ मा एक हजार किलोलिटर मट्टितेल भित्र्याई सकिएको निगम मधेस प्रादेशिक कार्यालयले जनाएको छ । ‘पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ,’ आचार्यले भन्नुभयो, ‘पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयातको आवश्यक तयारी समेत पूरा भईसकेको छ, परियोजनाको उद्घाट्न नभएकै कारण पेट्रोल र मट्टीतेल भित्र्याउने काम रोकिएको हो ।’

पाइपलाइन बिस्तार परियोजना अन्तर्गत अमलेखगञ्जस्थित प्रादेशिक डिपोमा ४ वटा नयाँ ट्यांक निर्माण भएको छ । ‘५ हजार १ सय किलोलिटर क्षमता भएका दुई र ४ हजार १ सय किलोलिटर क्षमता भएको दुई गरी ४ वटा ट्यांक निर्माण गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जसमा ३ वटा पेट्रोल भण्डारण गर्न र एउटा डिजेल भण्डारण गर्न प्रयोग गरिने छ, त्यससँगै दुई वटा २ सय ५० किलोलिटर ट्रान्समिक्स ट्यांक समेत निर्माण भएको छ ।’

यो योजना अर्न्तगत डिपोभित्र २ किलोमिटर नयाँ पाइपलाइन बिच्छयाईएको छ । हाल डिपोमा २ करोड ५५ लाख ९३ हजार लिटर डिजेल, एक करोड ७४ लाख ९८ हजार लिटर पेट्रोल र २२ लाख ६० हजार लिटर मट्टितेल भण्डारण गर्न सक्ने गरी ट्यांक निर्माण भएको छ । 

पेट्रोल ढुवानीका लागि दुई दर्जन पूर्ण स्वचालित लोडिङ वे–रिफिलर पम्प हाउस र प्रयोगशाला समेत निर्माण गरिएको छ । डिपोमा विगतमा एक ट्यांकर इन्धन भर्न ३० देखी ४० मिनेट भन्दा बढी समय लाग्ने गरेकोमा अब त्यसको आधा समयमै इन्धन भरिने छ ।

परियोजना अन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्ष समेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएकोमा विभिन्न कारणले हाल आएर मात्र परियोजनाको दोस्रो चरणको काम सम्पन्न भएको हो । 

इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निमगबीचको सम्झौता अनुसार १ सय २८ करोड भारु लागतमा दोस्रो चरणको परियोजनाको काम सम्पन्न भएको हो । परियोजनामा प्राविधिक काम भारतीय पक्षले र आर्थिक पाटो नेपाली पक्षले हेरेको छ । कुल लागत रकम नेपाली पक्षले भारतीय पक्षलाई किस्ताबन्दीमा हस्तान्तरण गर्नेछ । परियोजनाको टेण्डर आह्वान पनि भारतीय पक्षले गरेको थियो ।

आगलागी जस्ता दुर्घटनाबाट जोगिन डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक समेत निर्माण गरिएको छ । आयोजनाको उद्घाटन भएलगतै पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पेट्रोलियम पदार्थको नियमित आयात पाइपलाइनबाटै हुनेछ । अब पाइपलाइनबाटै भित्रिएको सबै खाले पेट्रोलियम पदार्थ थानकोट, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर समेतमा आपूर्ति गरिने आचार्यले जानकारी दिनुभयो । 

हाल अमलेखगञ्ज डिपोबाट प्रतिदिन १ हजार ५ सय किलोलिटर डिजेल, ५ सय किलोलिटर पेट्रोल र ८० किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । ३ सय किलोलिटर क्षमता भएको पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन भएको छैन । हाल एक सय ५० देखी २ सय किलोलिटर क्षमतामा मात्र पाइपलाइन सञ्चालन हुँदै आएको छ । भविष्यमा डिजेल, पेट्रोल र मट्टीतेल गरी प्रतिदिन ६ हजार किलोलिटर इन्धन पाइपलाइनबाटै आयात गर्न सकिनेछ ।

पाइपलाइन परियोजना अन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडामा करीब ४० देखि ५० प्रतिशत बचत हुने, सवारी दुर्घटना र वीरगञ्ज भन्सार तथा आसपासको क्षेत्रमा हुँदै आएको सवारी जाम पनि हटेर गएको आचार्यले बताउनुभयो ।